काठमाडौं । पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) का सांसदहरूलाई प्रहरीले पक्राउ गरेको छ । राजधानी इस्लामावादस्थित संसद् भवनबाट बाहिरिने क्रममा पीटीआईका अध्यक्ष गौहर अली खान, नेता शेर अफजल खान मारवत र अधिवक्ता शोएब शाहिनलाई इस्लामावाद प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले र्यालीको आयोजना गरेर खानका रिहाइको माग गरेको कारण पक्राउ गरिएको प्रहरीले जनाएको छ । र्यालीमा सहभागी भएका नेता तथा समर्थकले प्रशासनले जारी गरेको निर्देशनको उल्लंघन गरेको आरोप छ । प्रहरीले पीटीआईका केही नेताहरुको घरमा समेत छापा मारिरहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएको छन् ।
विपक्षी नेता उमरले पीटीआई नेताहरुको गिरफ्तारीको निन्दा गर्नुभएको छ । उहाँले पक्राउ परेकाहरुलाई तत्काल रिहाइको मागसमेत गर्नुभएको छ । इस्लामावाद उच्च अदालत बार एसोसिएसनले समेत गिरफ्तारीको निन्दा गरेको छ।
आइतबार खानको रिहाइको माग गर्दै इस्लामावाद नजिकैको सहरमा पीटीआईले शक्ति प्रदर्शन गरेको थियो । नियम उल्लंघन गरेको आरोपमा प्रहरीले रोक्न खोजेपछि समर्थकहरुले ढुङ्गा प्रहार गरेका थए । भिड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज र अश्रुग्यास समेत गरेको थियो । त्यस क्रममा प्रहरीले दर्जनौं प्रदर्शनकारीलाई समेत पक्राउ गरेको थियो।