काठमाडौं । म्यानमारबाट फेरि ठूलो संख्यामा रोहिंग्याहरु बंगलादेश प्रवेश गर्न थालेका छन् । राखिन राज्यबाट ठूलो संख्यामा रोहिंग्याहरू एजेन्टमार्फत् डुङ्गाबाट ‘नाफ’ नदी पार गरेर बंगलादेश प्रवेश गर्न थालेका हुन् ।
पछिल्लो एक साताभित्रै करिब १४ हजार रोहिंग्याले बंगलादेशको उखिया उपजिल्लाका विभिन्न शिविरमा शरण लिइरहेको अधिकारीहरुलाई उद्धृत गर्दै बंगाली पत्रिका प्रोथोम आलोले जनाएको छ । यसबाहेक सीमा क्षेत्रमा ६० देखि ७० हजार रोहिंग्या अवैधरुपमा बंगलादेश प्रवेश गर्न पर्खिरहेको प्रकाशित रिपोर्टमा उल्लेख छ । एजेन्टहरुले यी रोहिंग्याहरूबाट ठूलो रकम लिएर बंगलादेश प्रवेश गराइरहेको बताइएको छ । अवैध रुपमा प्रवेश गर्नेलाई रोक्न बंगलादेश सरकार असमर्थ भएको बताइएको छ ।
विगत केही दिनदेखि मौङदाउ क्षेत्रमा सशस्त्र विद्रोही समूह, अराकान आर्मी र म्यानमारका सुरक्षा बलबीच चलिरहेको भिडन्तपछि विद्रोही अराकान आर्मीले त्यस क्षेत्रका पाँचवटा गाउँबाट करिब ६० हजारभन्दा बढी रोहिंग्यालाई विस्थापित गरेको छ । विस्थापित रोहिंग्याहरु पलायन हुँदै बंगलादेशतर्फ लागेका हुन् ।
बंगलादेश कोस्ट गार्डले नाफ नदी र सुरक्षा बलले सीमा क्षेत्रमा गस्ती बढाएको छ । टेकनाफ उपजिल्ला अधिकारी एमडी अदनान चौधरीले सीमाका विभिन्न नाकाबाट रोहिंग्याहरु घुसपैठ गरिरहेको बताउनुभएको छ । त्यसमध्ये कतिपयलाई म्यानमारतर्फ नै फर्काइएको छ । हाल म्यानमारको राखिन राज्यमा तीन लाखभन्दा बढी रोहिंग्या बसोबास गरिरहेका छन् ।