गाजामा इजरायलको पछिल्लो हवाई आक्रमणमा कम्तीमा ४० को मृत्यु, ६० जना घाइते

भाद्र २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
 गाजामा इजरायलको पछिल्लो हवाई आक्रमणमा कम्तीमा ४० को मृत्यु, ६० जना घाइते

काठमाडौं । हमासद्वारा सञ्चालित सिभिल डिफेन्स प्रशासनले गाजामा इजरायलको पछिल्लो हवाई आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको जनाएको छ ।

प्रशासनले आक्रमण मानवीय सहायताका लागि तोकिएको क्षेत्रमा भएको र उक्त आक्रमणमा ६० जना घाइते भएको बताएको छ। इजरायली लडाकु विमानले खान युनिसमा हमासको सञ्चालन केन्द्रमा आक्रमण गरेको र नागरिकलाई क्षति हुनबाट जोगाउने उपायसहित सो अपरेसन गरिएको इजरायली सेनाले जनाएको बीबीसीले लेखेको छ । इजरायली सेनाले लगाएको आरोप भने हमासले अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

स्थानीय बासिन्दाका अनुसार अल-मावासीमा विस्थापित मानिसहरूको पालमा तीनवटा आक्रमण गरिएको थियो । अल-मवासी खान युनिसको पश्चिममा भएको क्षेत्र हो । आक्रमणमा ४० जनाको ज्यान गएको छ भने ६० जना घाइते भएको र थुप्रै मानिस भग्नावशेषमुनि पुरिएको हमासको सिभिल डिफेन्स अपरेसन निर्देशकलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरको छ ।

गत वर्ष अक्टोबरमा इजरायलले आफ्नो सैन्य अभियान सुरु गरेपछि हजारौं विस्थापित प्यालेस्टाइनीहरू आफ्नो ज्यान बचाउन खान युनिसतिर भागेका थिए। सोही क्षेत्रलक्षित इजरायली सेनाले आक्रमण थालेको हो । अक्टोबर ७ मा इजरायल भित्र पसेर हमासले आक्रमण सुरु गरेको थियो जसमा १२ सय मानिस मारिएका थिए भने २५१ जनालाई हमासले बन्धक बनाएर लगेको थियो ।

उक्त आक्रमणको बदलामा इजरायलले हमास समूहविरुद्ध सैन्य अपरेसन सुरु गरेको थियो । इजरायली सैन्य अभियानको क्रममा गाजामा हालसम्म ४० हजार ९ सयभन्दा बढी मानिस मारिएका छन् भने लाखौँ घाइते भएको छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement