अमेरिकी राष्ट्रपति बाइडनलाई चुनाव नलड्न आफ्नै पार्टी सांसदको दबाब

मतदाताको रोजाइमा बाइडनभन्दा ट्रम्प अगाडि
असार २४, २०८१ |हरहरि उपाध्याय
अमेरिकी राष्ट्रपति बाइडनलाई चुनाव नलड्न आफ्नै पार्टी सांसदको दबाब

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनबाट पछि नहट्ने दृढता व्यक्त गरिरहे पनि उहाँमाथि उम्मेदवारी फिर्ता लिन दबाब बढ्दै गएको छ ।

गत साता सीएनएनले गराएको प्रेसिडेन्सियल डिबेटमा ८१ वर्षीय बाइडनको प्रस्तुति ७८ वर्षीय ट्रम्पभन्दा निकै कमजोर देखिएयता डेमोक्र्याटिक पार्टीभित्र उम्मेदवार फेर्नुपर्ने अवधारणा बलियो बन्दै गएको हो ।

शनिबार मात्रै डेमोक्र्याटिक पार्टीका थप एकजना संघीय सांसद एन्जी क्रेगले बाइडनलाई चुनाव नलड्न सुझाव दिनुभएको छ । योसँगै बाइडनलाई राष्ट्रपति पदमा पुन:निर्वाचित हुने चाहना त्याग्न खुलेरै सुझाव दिने डेमोक्र्याट सांसदको संख्या पाँच पुगेको छ । आगामी दिनमा यो संख्या अझ बढ्दै जाने अनुमान गरिएको छ ।

शुक्रबार राति एबीसी न्युजलाई दिएको अन्तर्वार्तामा बाइडनले अब ईश्वरले मात्रै आफूलाई चुनावी अभियान त्याग्न सहमत गराउन सक्ने भन्दै प्रतिस्पर्धाबाट नबाहिरिने दृढता व्यक्त गर्नुभएको थियो ।

बाइडनको उक्त अन्तर्वार्ता प्रसारण भएको केही मिनेटपछि नै टेक्ससका वरिष्ठ सांसद लोयड डोगेटले बाइडन चुनावी प्रतिस्पर्धाबाट पछि हट्नु थप टड्कारो हुन पुगेको बताउनुभएको थियो । गत मंगलबार बाइडनलाई खुलेरै चुनाव नलड्न सुझाव दिने पहिलो व्यक्ति डोगेट नै हुनुहुन्थ्यो । बाइडनले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्न जति ढिलो गर्यो ट्रम्पलाई पराजित गर्न नयाँ आउने व्यक्तिलाई उति कठिन हुने उहाँको भनाइ छ ।

बाइडन चुनाव नलड्ने निर्णयमा पुगेको अवस्थामा ५९ वर्षीय उपराष्ट्रपति कमला ह्यारिस बाइडनको स्वाभावित उत्तराधिकारी हुने रोयटर्सले टिप्पणी गरेको छ । हृयारिसले बाइडनप्रति आफ्नो पूर्ण समर्थन रहेको दोहोर्याइरहँदा डेमोक्र्याटिक पार्टीका वरिष्ठ नेताहरु भने हृयारिसको पक्षमा खुल्न थालेको जनाइएको छ ।

पार्टीका पदाधिकारी, चन्दादाता तथा अभियानकर्ताहरुले समेत बाइडनको तुलनामा हृयारिसले ट्रम्पलाई पराजित गर्न सक्ने सम्भावनाबारे विचार-विमर्श गर्न लागेको बताइएको छ ।

सीएनएनले हालै सार्वजनिक गरेको मत सर्वेक्षणमा बाइडन ट्रम्पभन्दा ६ प्रतिशतले पछाडि हुँदा हृयारिस भने जम्मा २ प्रतिशतले पछाडि देखिनुहुन्छ । यस्तै रोयटर्स र इप्ससले गरेको सर्वेक्षणमा ह्यारिस ट्रम्पभन्दा जम्मा एक प्रतिशतले पछाडि देखिनुहुन्छ ।


Image

हरहरि उपाध्याय

उपाध्याय कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement