बेलायतमा आमनिर्वाचन : लेबर पार्टीको बहुमत, केइर स्टार्मर बन्नुभयो प्रधानमन्त्री

१४ वर्षदेखि सत्तामा रहेको कन्जरभेटिभ पार्टीद्वारा हार स्वीकार
असार २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
बेलायतमा आमनिर्वाचन : लेबर पार्टीको बहुमत, केइर स्टार्मर बन्नुभयो प्रधानमन्त्री

काठमाडौं । बेलायतमा हिजो सम्पन्न संसदीय निर्वाचनमा विपक्षी लेबर पार्टी भारी बहुमतका साथ विजयी भएको छ । बहुमतसँगै लेबर पार्टीका केइर स्टार्मर प्रधानमन्त्री बन्नुभएको बीबीसीले समाचारमा  उल्लेख गरेको छ ।

६५० सदस्यीय संसद्‌मा बहुमतका लागि ३२६ सिट चाहिनेमा लेबर पार्टीले ४१२ सिट जितेको छ । सत्तारुढ कन्जरभेटिभ पार्टीले १२१ सिट मात्र जितेको छ । दुई सिटको अन्तिम परिणाम भने आउन बाँकी छ ।

योसँगै कन्जरभेटिभ पार्टी नेतृत्वको सरकारले विगत १४ वर्षदेखि गर्दै आएको शासनको पनि अन्त्य भएको छ । यसअघिको संसदीय निर्वाचनमा ३४६ सिट जितेको कन्जरभेटिभ पार्टीले यस पटकको निर्वाचनमा इतिहासकै नराम्रो पराजय भोगेको छ ।

बढ्दो महँगी, अन्तरपार्टी द्वन्द्व र राजनीतिक अस्थिरताका कारण कन्जरभेटिभ पार्टीले जनताको विश्वास गुमाएको विश्लेषण गरिएको छ । आन्तरिक द्वन्द्वकै कारण २०१६ देखिको सत्ता स‌ञ्चालनमा कन्जरभेटिभ पार्टीले पाँचजना प्रधानमन्त्री फेरेको थियो ।

प्रधानमन्त्री ऋषि सुनकले आफ्नो दल कन्जरभेटिभ पार्टीको पराजय स्वीकार गर्नुभएको छ । उहाँले लेबर पार्टीका नेता केइर स्टार्मरलाई बधाइसमेत दिनुभएको छ ।

निर्वाचनमा भएको पराजयको जिम्मा लिँदै उहाँले कमजोर प्रदर्शनका लागि पार्टीका सदस्यहरुसँग क्षमा माग्नुभएको छ । सुनक आफू भने सांसद पदमा पुनर्निर्वाचित हुनुभएको छ ।

यो निर्वाचनका केही ठुला हस्तीले पराजय भोग्नुपरेको छ । रक्षामन्त्री ग्र्यान्ट शेप्स र अर्का प्रभावशाली नेता पेनी मोर्डन्ट लेबर पार्टीका उम्मेदवारसँग पराजित हुनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.