फ्रान्समा संसदीय निर्वाचनको पहिलो चरणमा दक्षिणपन्थी नेसनल र्‍यालीले ३३ प्रतिशत मत ल्याउने एक्जिट पोलको प्रक्षेपण

बहुमतका लागि दोस्रो चरणको निर्वाचन निर्णायक
असार १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
फ्रान्समा संसदीय निर्वाचनको पहिलो चरणमा दक्षिणपन्थी नेसनल र्‍यालीले ३३ प्रतिशत मत ल्याउने एक्जिट पोलको प्रक्षेपण

काठमाडौं । फ्रान्समा समय अगावैको संसदीय निर्वाचन अन्तर्गत हिजो भएको पहिलो चरणको मतदानको मतगणना जारी छ । मत सर्वेक्षणमा नेसनल र्‍याली सबैभन्दा अगाडि देखिएको छ । दोस्रो विश्वयुद्धपछि पहिलो पटक चरम दक्षिणपन्थी दल शक्तिको नजिक पुगेको छ ।

इप्सोसले गरेको सर्वेक्षण अनुसार मरिन ली पेन र जोर्डन बार्डेलाको दल नेसनल र्‍याली ३३ प्रतिशत मत प्राप्त गर्दै अगाडि देखिएको छ भने लेफ्ट विङ न्यू पपुलर फ्रन्ट- एनएफपी २८ दशमलव १ प्रतिशत मतका साथ दोस्रो स्थानमा रहने प्रक्षेपण गरिएको छ ।  

राष्ट्रपति इम्यानुयल म्याक्रों नेतृत्वको इन्सेम्बल गठबन्धनले २२.३ प्रतिशत मत प्राप्त गर्ने अनुमान छ । नेसनल र्‍यालीले तल्लो सदनको ५७७ सिट मध्ये २३० देखि २८० सिट र एनएफपीले १२५ देखि १६५ सिटमा जित हासिल गर्न सक्ने प्रक्षेपण छ । 

त्यस्तै राष्ट्रपति म्याक्रोंको गठबन्धन भने ७० देखि १०० सिटमा जित हासिल गर्ने एक्जिट पोलले देखाएको छ । सरकार बनाउन २८९ सिट चाहिनेमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसक्ने सीएनएनले उल्लेख गरेको छ ।

 अब जुलाई ७ मा हुने चुनाव नेसनल र्‍यालीका लागि महत्त्वपूर्ण हुने बताइएको छ । गत जुन ९मा भएको युरोपेली संसदको निर्वाचनमा आफ्नो गठबन्धनले भारी पराजय भोगेपछि राष्ट्रपति इम्यानुयल म्याक्रोंले अप्रत्याशित रूपमा संसद् भंगगरी समय अगावै निर्वाचनको आह्वान गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.