अमेरिकाको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति ट्रम्पलाई क्यापिटल हिल दंगा मामिलामा केही छुट दिने फैसला

असार १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकाको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति ट्रम्पलाई क्यापिटल हिल दंगा मामिलामा केही छुट दिने फैसला

काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति डनल्ड ट्रम्पलाई सन् २०२१ को क्यापिटल हिल दंगा मामिलामा केही छुट दिने फैसला गरेको छ । तर, ट्रम्पका अनधिकृत वा फौजदारी मुद्दामा भने कुनै छुट नहुने अदालतले स्पष्ट पारेको छ ।

इजलासले ट्रम्पलाई राष्ट्रपति हुँदा गरेको आधिकारिक काम कारबाहीका लागि अभियोजनबाट छुट रहेको तर उनका अनधिकृत कामका लागि कुनै छुट नहुने स्पष्ट पारेको हो । यद्यपि, कस्तो कामलाई आधिकारिक भन्ने र कस्तोलाई अनधिकृत भनेर छुट्याउने जिम्मा भने तल्लो अदालतलाई दिइएको छ ।

यसअघि ट्रम्पले संवैधानिक संरक्षण प्राप्त रहेको भन्दै मुद्दा नचलाउन गरेको अपिललाई तल्लो अदालतले खारेज गरिदिएको थियो । सोही विषयमा हिजो सर्वोच्चले तल्लो अदालतको फैसलालाई उल्ट्याउँदै केही छुट प्रदान गरेको हो । 

राष्ट्रपति चुनावअघि आएको यो फैसलालाई ट्रम्पको ठूलो जितको रूपमा हेरिएको छ । क्यापिटल हिल दंगा र राष्ट्रपति चुनावको नतिजा उल्ट्याउन खोज्ने ट्रम्पको मुद्दामा अब तल्लो अदालतमा सुनुवाइ हुनेछ । यद्यपि, उक्त मुद्दामा आगामी नोभेम्बरमा हुने चुनाव अघि सुनुवाइ नहुने बताइएको छ ।

राष्ट्रपति जो बाइडनले उक्त फैसलामा आपत्ति जनाउनुभएको छ । ट्रम्पले भने फैसलाको स्वागत गर्दै प्रजातन्त्रको ठूलो विजय भएको टिप्पणी गर्नु भएको छ । हस मनी ट्रायल ट्रम्पको निजी मामिला रहेका कारण आगामी जुलाई ११ मा तोकिने सजायमा भने हिजोको फैसलाले असर नपर्ने बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.