गाजामा इजरायलको आक्रमणबाट ७ प्यालेस्टिनीको मृत्यु

अर्थहीन रक्तपात रोक्न इजरायललाई राष्ट्रसंघको आग्रह
फौजदारी अदालतमाथि प्रतिबन्ध लगाउने अमेरिकाको तयारी
जेष्ठ ९, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
गाजामा इजरायलको आक्रमणबाट ७ प्यालेस्टिनीको मृत्यु

काठमाडौं । इजरायली सेनाले हिजो आफ्नो नियन्त्रणमा रहेको गाजाको वेस्ट बैंकस्थित जेनिन शरणार्थी शिविरमा आक्रमण गर्दा सात जनाको मृत्यु भएको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले इजरायली सेनाको आक्रमणबाट बालकालिका र चिकित्सकसहित सात जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

इजरायली सेनाले रातभर उक्त क्षेत्रमा आफ्नो गस्ती गरिरहेको र सडकमा निस्किने जोकोहिमाथि आक्रमण थालेको आपतकालीन सेवामा खटिएका एम्बुलेन्स चालक हाजिम मासार्बाले जनाएका छन् ।

संघर्षविराम निष्कर्षविहीन भएपछि इजरायली सेनाले रफाह, वेस्ट बैंक र त्यस वरिपरिका भागहरुमा आफ्नो आक्रमणलाई तीव्र बनाएको छ ।

उक्त आक्रमणलाई लिएर संयुक्त राष्ट्रसंघले आपत्ति जनाएको छ । राष्ट्रसंघले इजरायली सेनाले जेनिन शरणार्थी शिविरमा गरेको आक्रमण अर्थहीन रक्तपात भन्दै तत्काल यस्ता गतिविधिलाई रोक्न इजरायललाई आग्रह गरेको छ ।

यसैबीच, अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) मा मुख्य अभियोजक करिम खानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले युद्ध अपराध गरेको भन्दै पक्राउ पुर्जी जारी गर्न मुद्दा दायर गरेको विषयमा अमेरिकाले आपत्ति जनाएको छ ।

अमेरिकाले फौजदारी अदालतमाथि नै प्रतिबन्ध लगाउने तयारी गरेको छ । अमरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले सिनेटमा बोल्दै फौजदारी अदालतमाथि प्रतिबन्ध लगाउने विषयमा आफू प्रतिबद्ध रहेको बताएका छन् । उनलाई कांग्रेसमा रिपब्लिकन सांसदको समेत समर्थन रहेको बताइएको छ । रिपब्लिकनकै प्रस्तावमा ब्लिंकेनले प्रतिबद्धता जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।