अफगानिस्तानमा बन्दुकधारीको आक्रमण, ३ स्पेनी पर्यटकको मृत्यु

चार विदेशीसहित सातजना घाइते
जेष्ठ ५, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
अफगानिस्तानमा बन्दुकधारीको आक्रमण, ३ स्पेनी पर्यटकको मृत्यु

काठमाडौं । अफगानिस्तानको मध्य बाम्यान प्रान्तमा बन्दुकधारीले आक्रमण गर्दा तीन स्पेनी पर्यटकको मृत्यु भएको छ ।

त्यस क्षेत्रमा रहेको बौद्धको मूर्ति दर्शन गर्न गएका स्पेनी पर्यटकको मृत्युको भएको विषयमा स्पेनको विदेश मन्त्रालयले शुक्रबार आपत्ति जनाएको छ ।

आक्रमणमा अन्य चार विदेशी र तीन अफगानी पनि घाइते भएको तालिवानको आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले जनाउनुभएको छ ।

आक्रमणपछि चारजना बन्दुकधारीलाई पक्राउ गरिएको र अनुसन्धान तत्काल सुरु भएको विषयमा समेत उहाँले स्पष्ट पार्नुभयो ।

उक्त क्षेत्रमा स्पेनको विदेश मन्त्रालयले कन्सुलर आपतकालीन एकाइलाई भने पूर्ण रूपमा परिचालन गरेको बताइएको छ । अफगानिस्तानमा स्पेनी पर्यटकको हत्याको खबरले स्तब्ध भएको स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सामाजिक सन्देश प्लेटफर्म एक्समार्फत दुःख व्यक्त गर्नुभएको छ ।

आक्रमण के कारणले भएको हो भन्नेबारे केही नखुलेको स्थानीय प्रहरी जनाएका छन् ।

सन् २०२१ मा तालिबानले अफगानिस्तानमा कब्जा गरेपछि सुरक्षा पुनर्स्थापना गर्ने वाचा गरेका थिए । तालिबानले कब्जा गरेपछि शुक्रबारको आक्रमण सबैभन्दा धेरै विदेशी नागरिकलक्षित भएको बताइएको छ ।