नेपाल बाहिर कहाँ-कहाँ भएका थिए संसदमा गम्भीर सुरक्षा चुकका घटना ?

फाल्गुन १४, २०८० |हरहरि उपाध्याय
नेपाल बाहिर कहाँ-कहाँ भएका थिए संसदमा गम्भीर सुरक्षा चुकका घटना ?

काठमाडौं । संसदमा गम्भीर सुरक्षा चुकको घटना नेपालमा मात्र नभई विश्वका अन्य थुप्रै मुलुकमा पनि भएको पाइन्छ । सामान्य सुरक्षा लापरबाही जस्ता लाग्ने यस्ता घटनाले कहिलेकाहीँ ठूला दुर्घटना पनि निम्त्याउन सक्छन् ।

डिसेम्बर १३, २०२३ । भारतमा संसद्को तल्लो सदन लोकसभाको बैठक चलिरहेको थियो । एक्कासि दुई युवक दर्शक दीर्घाबाट हामफालेर सभाकक्षमा दौडिए । एक जनाले  जुत्तामा लुकाएर ल्याएको टीनको बट्टाबाट पहेँलो धुवाँ छरे भने अर्का युवक कुर्सीमाथिबाट उफ्रिँदै सभामुखको आसनस्थलसम्म पुग्ने प्रयास गरे । 

योजनामा संलग्न अन्य तीन जनाले संसद् भवन बाहिर विरोध गरेका थिए ।  पछि प्रहरीले मुख्य योजनाकारसहित सबै ६ जनालाई गिरफ्तार गरेको थियो ।  सन् २००१ मा नौ जनाको ज्यान लिने गरी भारतीय संसद् भवनमा आतङ्ककारी आक्रमण भएको घटनाको २२औँ वार्षिकोत्सवको दिन पारेर उक्त घटना गराइएको थियो ।

२०२१को जनवरी ६ मा अमेरिकी संसदमा भएको आक्रमणको घटना झन् डरलाग्दो छ । तत्कालीन राष्ट्रपति डनल्ड ट्रम्पका सयौं समर्थकले संसद् भवन क्यापिटल बिल्डिङमा आक्रमण गरेका थिए । राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई पराजित गर्दै जो बाइडन विजयी भएको प्रमाणित गर्नका लागि संसद्को दुवै सदनको संयुक्त बैठक बसिरहेका बेला सो प्रक्रिया रोक्न उनीहरूले संसद् भवनमा आक्रमण गरेका थिए ।

घटनाका क्रममा ५ जनाको मृत्यु भएको थियो भने एक सय ७४ प्रहरीसहित थुप्रै घाइते भएका थिए । उक्त घटनाका समयमा संसद् भवनमा तैनाथ रहेकामध्ये चार जना प्रहरी अधिकृतहरूले ७ महिनाभित्रै आत्महत्या गरेका थिए । आक्रमणबाट जोगिन तत्कालीन उपराष्ट्रपति माइक पेन्स र सांसदहरुले भागेर आफ्नो ज्यान जोगाउनु परेको थियो ।

अमेरिकी आक्रमणको सिको गर्दै ब्राजिलमा २०२३ को जनवरी ८मा पूर्व राष्ट्रपति जाएर बोल्सोनारोका समर्थकहरूले नवनिर्वाचित राष्ट्रपति लुला डा. सिल्भाको सरकारलाई बलपूर्वक अपदस्थ गर्ने लक्ष्यका साथ संसद् भवनका साथै सर्वोच्च अदालत भवन र राष्ट्रपति कार्यालयमा आक्रमण गरेका थिए । यी तीनवटै भवनबाट दंगाकारीहरुलाई धपाउन सुरक्षा फौजलाई पाँच घण्टाभन्दा बढीको समय लागेको थियो ।

त्यस्तै इराकमा २०२२को जुलाईमा इराकी धार्मिक नेता मुक्तदा अल सदरका समर्थकले मोहम्मद शिया अल सुडानीलाई प्रधानमन्त्री बनाउने प्रस्तावको विरोधमा संसद् भवनमाथि आक्रमण गरेका थिए । पछि अल सदरले प्रार्थना गर्न र घर फिर्ता जान आह्वान गरेपछि उनीहरूले संसद् भवन खाली गरेका थिए ।

नेपालले पनि यस्ता घटनाबाट पाठ सिक्दै आगामी दिनमा संसद् भवनजस्ता संवेदनशील स्थानको सुरक्षामा उच्च सतर्कता अपनाउन आवश्यक देखिन्छ ।


Image

हरहरि उपाध्याय

उपाध्याय कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।