पाकिस्तान निर्वाचन अपडेट : २६५ मध्ये १२२ स्थानको नतिजा घोषणा

माघ २६, २०८० |कान्तिपुर टीभी संवाददाता
पाकिस्तान निर्वाचन अपडेट : २६५ मध्ये १२२ स्थानको नतिजा घोषणा

काठमाडौं । पाकिस्तानमा हिजो सम्पन्न आमनिर्वाचनको मतगणना परिणाम आउने क्रम जारी छ ।

पाकिस्तानको निर्वाचन आयोगले संघीय संसद् नेसनल एसेम्बलीका २६५ सिटमध्ये १२२ स्थानको नतिजा घोषणा गरेको छ । १४३ स्थानको मत परिणाम आउन बाँकी छ ।

आयोगले जारी गरेको परिणामअनुसार स्वतन्त्र उम्मेदवारले ४९ स्थानमा विजय प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेद्‌वारमध्ये अधिकांश हाल जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको दल पीटीआई समर्थित उम्मेदवार रहेको जनाइएको छ ।

तीनपटक प्रधानमन्त्री भइसकेका नवाज सरिफको दल पीएमएल-एनले ३९ स्थानमा विजय प्राप्त गरेको छ । सरिफ लाहोरबाट विजयी भएका छन् । उनकी छोरी मरयम पनि विजयी भएकी छन् ।

हत्या गरिएकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका छोरा बिलावल भुट्टो जर्दारीको पार्टी पीपीपीले ३० स्थानमा विजय प्राप्त गरेको छ । बिलावल स्वयं पनि लडकाना निर्वाचन क्षेत्रबाट विजयी भएका छन् । यस्तै अन्य साना दलले चार स्थानमा विजय प्राप्त गरेका छन् ।

नेसनल एसेम्बलीका ३३६ स्थानमध्ये २६६ जना प्रत्यक्ष निर्वाचित हुने व्यवस्था रहेको छ । एकजना उम्मेदवारको निधनका भएका कारण हिजो २६५ क्षेत्रमा मात्रै मतदान भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.