भारतका ५ राज्यमा विधानसभा निर्वाचन

भाजपा ३ र कंग्रेस १ राज्यमा अगाडि
मिजोरममा भोलि मतगणना हुने
मंसिर १७, २०८०
भारतका ५ राज्यमा विधानसभा निर्वाचन

नयाँदिल्ली । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) ले देशका चार महत्त्वपूर्ण राज्यमा भएका विधानसभा निर्वाचनमध्ये तीन वटामा विजय प्राप्त गर्ने निश्चित देखिएको छ ।

आगामी वर्ष हुने आमनिर्वाचनबाट लगातार तेस्रोपटक पनि सरकारको नेतृत्व गर्ने अभिलाषा बोकेका मोदीका लागि यो सुखद् संकेत भएको कतिपय भारतीय समाचारमाध्यमले टिप्पणी गरेका छन् ।

यही नोभेम्बर ७ देखि ३० सम्म मिजोराम, मध्य प्रदेश, छत्तीसगढ, राजस्थान र तेलंगाना राज्यमा विधानसभा निर्वाचन भएकोमा आज (आइतबार) मिजोरमबाहेकका राज्यको मतगणना गरिँदै छ । मतगणनाको अन्तिम परिणाम आइतबार रातिसम्ममा आइसक्ने अपेक्षा गरिएको छ ।

मतगणनाको पछिल्लो परिणामअनुसार मध्यप्रदेश, राजस्थान र छत्तीसगढमा भाजपा अग्रस्थानमा छ । तेलंगाना राज्यमा भने कांग्रेस अग्रस्थानमा छ ।

भाजपाले मध्य प्रदेशमा दुईतिहाइ सिट संख्या जित्ने अनुमान गरिएको छ । राजस्थान र छत्तीसगढमा सरकार गठन गर्न सक्ने नतिजा हासिल गरेको छ । राजस्थानमा भाजपाका कार्यकर्ताले पार्टी कार्यालयअगाडि खुसी मनाएका छन् ।

सन् २०१८ मा कांग्रेसले तीनैवटा राज्यमा निर्वाचन जितेको थियो भने त्यसको तीन महिनापछि भएको राष्ट्रिय आमनिर्वाचनमा भने भाजपाले विजय हासिल गरेको थियो । भाजपाले २८ राज्यमध्ये १५ राज्यमा सरकारको नेतृत्व गरिरहेको छ । जसमध्ये ९ राज्यमा एकल र ६ राज्यमा गठबन्धन सरकार बनाएको छ ।


Enter Kantipur TV HD
Advertisement