काठमाडौं । हमाससँगको सात दिने संघर्षविराम सकिए लगत्तै इजरायलले गाजामाथि भीषण आक्रमण गर्दा कम्तीमा १ सय ७८ जनाको प्यालेस्टीनीहरु मारिएका छन् ।
इजरायल र हमासबीच सात दिने संघर्षविराम सकिएको आज दोस्रो दिन हो । आज पनि बिहानदेखि नै गाजा क्षेत्रमा इजरायली आक्रमण जारी छ । इजरायली सेनाले हमासले संघर्षविश्राम उल्लङ्घन गरेको आरोप लगाउँदै गाजामा आक्रमण गरेको हो ।
गाजातर्फबाट प्रहार गरिएको रकेट खसालेको समेत इजरायलले दाबी गरेको छ । इजरायली सेनाले दक्षिणी गाजाको खान युनुस क्षेत्रमा पर्चा छर्दै त्यहाँका बासिन्दालाई अझै दक्षिणतर्फ जान चेतावनी दिएको छ । विश्लेषकहरूले यसबाट आगामी दिनमा इजरायलले दक्षिणी गाजामा समेत आक्रमण तीव्र पार्ने तयारी गरेको आँकलन गरेका छन् ।
यसअघि इजरायली चेतावनीकै कारण उत्तरी गाजाका बासिन्दा दक्षिणतर्फ आएका थिए । सात दिने संघर्ष विरामका क्रममा हमासले १ सय १० बन्धक र इजरायलले २ सय ४० प्यालेस्टिनी बन्दी रिहा गरेका थिए । युद्धमा अहिलेसम्म ६ हजार बालबालिकासहित करिब पन्ध्र हजार प्यालेस्टिनी मारिएका छन् । इजरायलतर्फ १२ सयको ज्यान गएको छ ।
यसैबीच संघर्षविराम लम्ब्याउन कतारको मध्यस्थतामा हमास र इजरायलबीचको वार्ता भङ्ग भएको छ ।