अपडेट : पाकिस्तानमा भएको छुट्टाछुट्टै विस्फोटमा ५७ जनाको मृत्यु

आश्विन १२, २०८०
अपडेट : पाकिस्तानमा भएको छुट्टाछुट्टै विस्फोटमा ५७ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानको बलुचिस्तान र खैबरपख्तुनख्वा प्रान्तमा आज भएका तीनवटा छुट्टाछुट्टै विस्फोटमा ५७ जनाको मृत्यु भएको छ । विस्फोटमा एक सय जनाभन्दा बढी घाइते भएका छन् ।

बलुचिस्तान प्रान्तको मास्तुङ सहरस्थित मदिना मस्जिदनजिकै पैगम्बर मोहम्मदको जयन्ती मनाउन मानिसहरु भेला भएका बेला विस्फोट हुँदा ५२ जनाको मृत्यु भएको छ । विस्फोटमा एक सय जनाभन्दा बढी घाइते भएको र दर्जनौंको अवस्था चिन्ताजनक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले आत्मघाती विस्फोट गराइएको आशंका गरे पनि अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । वरिष्ठ प्रहरी अधिकृत नवाज गिश्कोरी चढेको गाडीनजिकै आत्मघाती बिस्फोट गराइएको प्रहरीको भनाइ छ । बलुचिस्तानका कार्यवाहक मुख्यमन्त्री मिर अली मर्दन खान डोमकीले शान्तिपूर्ण भेलामा भएको विस्फोटको निन्दा गर्दै घटनाको अनुसन्धानका लागि निर्देशन दिएका छन् । प्रान्तमा आपतकाल र तीन दिनसम्म शोक घोषणा गरिएको छ ।

यस्तै, खैबर- पख्तुनख्वा प्रान्तको हाङगुमा भएका दुई विस्फोटमा पाँचजनाको मृत्यु भएको छ । घटनामा १२ जना घाइते भएका छन् । हाङगु क्षेत्रको प्रहरी चौकीमा विस्फोट भएको केही समयपछि नजिकैको मस्जिदमा दोस्रो विस्फोट भएको थियो ।