पाकिस्तानको मास्तुङ सहरमा बम विस्फोट, ५२ जनाको मृत्यु

आश्विन १२, २०८०
पाकिस्तानको मास्तुङ सहरमा बम विस्फोट, ५२ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानको बलुचिस्तान प्रान्तको मास्तुङ जिल्लामा आज बम विस्फोट हुँदा ५२ जनाको मृत्यु भएको छ ।

मास्तुङ सहरको मदिना मस्जिदनजिकै इस्लाम धर्मगुरुको जन्मदिन मनाउन आयोजित भेलामा विस्फोट भएको हो । विस्फोटमा एक सय जनाभन्दा बढी घाइते भएको र दर्जनौंको अवस्था चिन्ताजनक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले आत्मघाती विस्फोट गराइएको आशंका गरे पनि अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । वरिष्ठ प्रहरी अधिकृत नवाज गिस्कोरी चढेको गाडीनजिकै आत्मघाती विस्फोट गराइएको प्रहरीको भनाइ छ ।

बलुचिस्तानका कार्यवाहक मुख्यमन्त्री मिर अलीले शान्तिपूर्ण भेलामा भएको विस्फोटको निन्दा गर्दै घटनाको अनुसन्धानका लागि निर्देशन दिएका छन् । प्रान्तमा आपत्‌काल र तीन दिनसम्म शोक घोषणा गरिएको छ ।