क्राइमिया र ब्ल्याक सी क्षेत्रमा युक्रेनी आक्रमण तीव्र

आश्विन ९, २०८०
क्राइमिया र ब्ल्याक सी क्षेत्रमा युक्रेनी आक्रमण तीव्र

मस्को । युक्रेनी सेनाको स्पेसल अपरेसन फोर्सले गत शुक्रबार रुस अधीनस्थ क्राइमियाको सेभास्टोपोलस्थित नौसैनिक अखडामा गरिएको क्षेप्यास्त्र आक्रमणमा मस्कोका एकजना उच्च सैन्य कमान्डरसहित ३३ अन्य अधिकारी मारिएको दाबी गरेको छ ।

यता रुसले भने युक्रेनले मारेको दाबी गरिएका ब्ल्याक सी जहाजी बेडाका कमान्डर भिक्टर सोकोलोभको भिडियो र तस्बिर जारी गर्दै अप्रत्यक्ष रुपमा युक्रेनी दाबी खारेज गरेको छ । रुसी रक्षा मन्त्रालयले जारी गरेको भिडियोमा सोकोलोभ रक्षामन्त्री सेर्गेई सोयगु र अन्य उच्च सैन्य अधिकारीसँगको भिडियो कन्फरेन्सिङमा सहभागी रहेको देखिन्छन् । सोकोलोभ मारिएको वा उनी जिउँदै रहेको कुराको स्वतन्त्र पुष्टि भने हुन नसकेको अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन् ।

रुसले युक्रेनको दक्षिणी क्षेत्र क्राइमियालाई सन् २०१४ मा आफूमा गाभेको घोषणा गरेको थियो । पछिल्ला दिनमा युक्रेनले ब्ल्याक सी र क्राइमिया क्षेत्रमा आक्रमणलाई तीव्रता दिएको छ ।

यसैबीच किएभले रुसले आक्रमणका लागि पठाएका ३८ मध्ये २६ वटा ड्रोनलाई आकाशमै गोली हानेर खसालेको दाबी गरेको छ । उता रुसले पनि बेलगोर्डो र कुस्क क्षेत्रमा कम्तिमा ११ वटा युक्रेनी ड्रोन ध्वस्त पारेको दाबी गरेको छ । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको एक वर्ष सात महिनाभन्दा पनि बढी भइसकेको छ ।

युक्रेनको करिब साढे १७ प्रतिशत भूभागमा रुसको नियन्त्रण रहेको जनाइएको छ । युद्धका क्रममा दुवैतर्फ हजारौंको संख्यामा सैनिक मारिएका छन् । यस्तै हजारौंको संख्यामा युक्रेनी सर्वसाधारणले ज्यान गुमाएका छन् भने ६० लाखभन्दा बढी मानिस आन्तरिक तथा त्यत्तिकै संख्यामा शरणार्थीका रुपमा बाह्य देशमा विस्थापित भएका छन् ।