बेलारुसमा आणविक हतियार भण्डारण गर्ने रुसको घोषणा

चैत्र १२, २०७९
बेलारुसमा आणविक हतियार भण्डारण गर्ने रुसको घोषणा

काठमाडौं । रुसले बेलारुसमा रणनीतिक आणविक हतियार भण्डारण गर्ने भएको छ । रुसी राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसमा आणविक हतियार भण्डारण गर्ने घोषणा गरेका हुन् ।

राष्ट्रपति पुटिनले यो कदमले अप्रसार सम्झौताको उल्लंघन नहुने र अमेरिकाले युरोपेली मुलुकहरुमा आफ्नो हतियार राखे जस्तै रुसले बेलारुसमा हतियार राख्न खोजेको उल्लेख गरेका छन् ।

अमेरिकाले बेल्जियम, जर्मनी, नेदरल्यान्डस्, इटाली र टर्कीमा हतियार भण्डारण गरेको छ । पुटिनले अमेरिकाले युरोपमा हतियार राखे जस्तै रुसले बेलारुसमा गर्न लागेको तर्क गरेका छन् ।

मस्कोले ती हतियारको नियन्त्रण मिन्स्कलाई हस्तान्तरण नगर्ने पुटिनको भनाइ छ । पुटिनलाई बेलारुसमा चुस्त किसिमको आणविक हतियार भण्डारण हुने बताउँदै आगामी जुलाई १ सम्ममा भण्डारण प्रक्रियाको काम सम्पन्न हुने जानकारी दिएका छन् ।

रुसको घोषणापछि अमेरिकाले भने रुसले आणविक हतियार प्रयोगको तयारी गरिरहेको आफूले विश्वास नगरेको प्रतिक्रिया दिएको छ ।

आणविक हतियार प्रक्षेपण गर्न सक्ने रणनीतिक क्षेप्यास्त्र प्रणाली इस्कन्दर थोरै संख्यामा बेलारुस पठाउन सुरु भइसकेको पुटिनले जनाएका छन् । सन् १९९० को मध्यपछि मस्कोले देश बाहिर हतियार राख्न लागेको यो पहिलो पटक हो ।