चिनियाँ राष्ट्रपति सी फर्किए लगत्तै रुसले पुन: सुरु गर्यो युक्रेनमाथि आक्रमण

चैत्र ८, २०७९ |कान्तिपुर टीभी संवाददाता
चिनियाँ राष्ट्रपति सी फर्किए लगत्तै रुसले पुन: सुरु गर्यो युक्रेनमाथि आक्रमण

किएभ । चिनियाँ राष्ट्रपति सी चिनफिङ फर्किएलगत्तै रुसले युक्रेनमा आक्रमण गरेको छ । राजधानी किएभ नजिकै भएको ड्रोन आक्रमणमा चार जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरुले जनाएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसले २० भन्दा बढी घातक ड्रोन, मिसाइल र सेल प्रयोग गरेको जनाएका छन् । रुसले प्रहार गरेका २१ ड्रोनमध्ये १६ वटा युक्रेनले खसालेको छ । यस्तै दक्षिणी शहर ओडेसामा भएको रुसी आक्रमणमा परी ३ जना घाइते भएको युक्रेनी अधिकारीले जनाएका छन् । यता रुसनियन्त्रित क्रिमिया क्षेत्रमा पनि युक्रेनले ड्रोन आक्रमण गरेको दाबी रुसी अधिकारीहरुको छ ।

यसैबीच, युक्रेनी राष्ट्रपति जेलेन्स्की युद्धग्रस्त बाखमुट शहर पुगेका छन् । उनले त्यहाँ अग्रमोर्चामा खटिएका सैनिकहरुलाई भेट्दै देशको रक्षाका लागि गरेको योगदानको प्रशंसा गरेको बीबीसीले जनाएको छ । रणनीतिक महत्वको बाखमुट शहर कब्जामा लिन रुसले लामो समयदेखि प्रयास गर्दै आएको छ भने युक्रेनी सेनाले पनि शहरको पश्चिमी क्षेत्रबाट जवाफी आक्रमण थालेको छ ।

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले चिनियाँ राष्ट्रपति सीको १२ बुँदे शान्ति योजना युक्रेनसँगको द्वन्द्व अन्त्यका लागि राम्रो आधार भए पनि पश्चिमा मुलुक र युक्रेन त्यसका लागि त्यसका लागि तयार नभएको बताएका छन् । तर, युक्रेनले रुसी सेना आफ्नो क्षेत्रबाट फर्कनुपर्ने सर्त कायम राखेको छ । रुस भने युक्रेनबाट आफ्नो सेना फिर्ता नगर्ने अडानमा छ। यसैबीच, जापानी प्रधानमन्त्री फुमियो किसीदा युक्रेनपछि पोल्यान्ड पुगेका छन् । उनले पोल्याण्डका प्रधानमन्त्री मातेउस मोरावेच्कीसँग भेटवार्ता गरेका छन् । वार्तामा किसिदाले रुसविरुद्धको युद्धमा सैन्य र मानवीय सहयोग पुर्‍याएकोमा पोल्याण्डलाई धन्यवाद दिएका थिए । भ्रमणपछि जारी विज्ञप्तिमा चिनियाँ राष्ट्रपति सीको रुस भ्रमण चिन्ताजनक भएको उल्लेख गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.