युक्रेन युद्ध अन्त्यका लागि चीनको शान्ति योजनामा रुस सकारात्मक

चैत्र ८, २०७९ |कान्तिपुर टीभी संवाददाता
युक्रेन युद्ध अन्त्यका लागि चीनको शान्ति योजनामा रुस सकारात्मक

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनले अघि सारेको शान्ति योजना युक्रेन युद्धको अन्त्यका लागि आधारका रुपमा प्रयोग गर्न सकिने तर त्यसका लागि पश्चिमा देश र किभ तयार हुनु पर्नेमा जोड दिएका छन् ।

रुस भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको औपचारिक भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति पुटिनले यस्तो जनाएका हुन् ।

सोही पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ राष्ट्रपति सीले आफ्नो देश शान्ति र वार्ताको पक्षमा रहेको तथा इतिहासको सही दिशामा उभिएको बताएका थिए । सीले युक्रेन द्वन्द्वमा चीन निष्पक्ष भूमिकामा रहेको भन्दै बेइजिङलाई शान्तिकर्ताको रुपमा प्रस्तुत गरेका थिए । दुवै नेताद्वारा हस्ताक्षरित् संयुक्त विज्ञप्तिमासमेत युक्रेन संकटको समाधान संवाद र शान्ति वार्ताका माध्यमबाट गरिनु पर्नेमा जोड दिइएको छ ।

चीनले गत महिना जारी गरेको १२ बुँदे योजनामा युद्ध बिराम गरी र शान्ति वार्ताका माध्यमबाट युक्रेन युद्धको राजनीतिक समाधान खोजिनु पर्ने उल्लेख गरेको छ । तर चिनियाँ योजनामा रुसलाई युक्रेनबाट सेना फिर्ता लैजान नभनिएको भन्दै पश्चिमा देशले त्यसप्रति आशंका जनाउँदै आएका छन् । युक्रेनले पनि कुनै पनि वार्ताका लागि पहिले रुसले आफ्नो भूभागबाट सेना फिर्ता लैजानु पर्ने सर्त राख्दै आएको छ ।

सोमबार मात्रै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले रुसी सेना फिर्ता नभइ युद्ध बिरामको आहृवान गर्नु रुसी कब्जालाई मान्यता दिनु सरह हुने भन्दै उक्त चिनियाँ प्रस्तावप्रति आपत्ति जनाइसकेका छन् ।

रुसी सञ्चारमाध्यमका अनुसार पुटिन र सीले दुई देशबीच आर्थिक सहयोग र रुस-चीन साझेदारीलाई गहन बनाउने सम्बन्धी दुई योजनामा हस्ताक्षर गरेका थिए । यसैगरी दुई देशबीच मंगोलिया हुँदै रुसबाट चीनसम्म पुग्ने ग्यास पाइप लाइन निर्माण गर्ने सम्झौतासमेत भएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.