अमेरिकाले भन्यो- युद्ध अपराध बन्द गर्न पुटिनलाई दबाब दिनुपर्छ

चैत्र ७, २०७९
अमेरिकाले भन्यो- युद्ध अपराध बन्द गर्न पुटिनलाई दबाब दिनुपर्छ

वासिंटन । अमेरिकाले रुस भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले युक्रेनमा युद्ध अपराध बन्द गर्न र त्यहाँबाट सेना फिर्ता लान राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाब दिनुपर्ने जनाएको छ ।

हृवाइट हाउसका राष्ट्रिय सुरक्षा परिषद प्रवक्ता जोन किर्बीले युक्रेनमा युद्धविराम मात्रै खोज्नु पर्याप्त नहुने उल्लेख गर्दै रुसले त्यहाँबाट सेना नै फिर्ता लैजानुपर्ने जनाएका छन् । राष्ट्रपति सीले युक्रेनी सहर, अस्पताल र विद्यालयमाथि बमबारी रोक्न पुटिनमाथि दबाब दिनुपर्ने किर्बीको भनाइ छ ।

सेना फिर्ता लैजान भन्नुको सट्टा चीनले युद्धविरामको आहृवान मात्रै दोहोर्याएको अवस्थामा रुसी सेना युक्रेनभित्रै रहने र यसबाट रुसको अवैध कब्जालाई युक्रेनले स्वीकार गरेको ठहरिने चिन्ता किर्बीले व्यक्त गरेका छन् ।

रुसको तीनदिने भ्रमणका लागि सोमबार मस्को पुगेका राष्ट्रपति सीले समकक्षी पुटिनसँग हिजै करिब साढे ४ घण्टा अनौपचारिक वार्ता गरेका थिए । त्यस अवसरमा दुवै राष्ट्रपतिबीच युक्रेन संकट समाधानका लागि चीनले अघि सारेको १२ बुँदे शान्ति योजनामाथि विस्तृत विचार विमर्श भएको रुसी राष्ट्रपतिको कार्यालयका प्रवक्ता दिमित्रि पेस्कोभले जनाएका छन् ।

चीनले अघि सारेको योजनामा दुवै देशलाई युद्धविराम गर्न र शान्तिवार्ता पुनः नियमित गर्न सुझाव दिइएको छ । पश्चिमा देशले भने शान्तिकर्ताका रुपमा चीनको भूमिकामाथि संशय व्यक्त गर्दै आएका छन् ।

भेटमा सीले पुटिनलाई चीन भ्रमणको निम्तो दिएको रुसी सञ्चारमाध्यमले जनाएका छन् । दुई नेताबीच आज (मंगलबार) दोस्रो दिन पनि भेटवार्ता भएको छ । यसैबीच जापानी प्रधानमन्त्री फुमियो किशिदा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट्न मंगलबार अप्रत्याशित रुपमा किएभ पुगेका छन् । सी रुस भ्रमणमै रहेका बेला जापानी प्रधानमन्त्री युक्रेन पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


Enter Kantipur TV HD
Advertisement