युक्रेनसँगको युद्ध रोक्ने चीनको प्रस्तावलाई सम्मानका साथ हेरेको पुटिनको प्रतिक्रिया

चैत्र ७, २०७९
युक्रेनसँगको युद्ध रोक्ने चीनको प्रस्तावलाई सम्मानका साथ हेरेको पुटिनको प्रतिक्रिया

मस्को । रुस भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले रुसलाई युक्रेनसँगको युद्ध अन्त्य गर्न प्रस्ताव गरेका छन् ।

रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको भेटवार्तामा सीले उक्त प्रस्ताव गरेका हुन् । सीको प्रस्तावमा पुटिनले चीनको प्रस्तावलाई सम्मानका साथ हेरेको प्रतिक्रिया दिएका छन् ।

रुस–युक्रेनबीचको युद्ध रोक्ने र शान्ति स्थापना गर्ने उद्देश्यले सी रुस भ्रमणमा गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भेटका क्रममा दुई नेताले एकअर्कालाई ‘प्रिय मित्र’ भन्दै सम्बोधन गरेका थिए । सीसँगको वार्तामा पुटिनले भने, ‘हामी वार्ता प्रक्रियाका लागि सँधै खुला छौँ ।’

चीनले पछिल्लो महिना युद्ध अन्त्यका लागि एक योजना जारी गरेको थियो । जसमा शुत्रताको अन्त्य र शान्ति वार्ता पुनः सुचालु गरिनु पर्ने समावेश छ ।

यता अमेरिकाले भने चीनको उक्त योजनालाई शान्ति योजना रोक्ने रणनीति हुन सक्ने भन्दै गत शुक्रबार चेतावनी दिएको थियो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले भनेका छन्, ‘चीन वा अन्य कुनै देशको समर्थनमा रुसको कुनै पनि रणनीतिक कदमबाट विश्वलाई मुर्ख बनाउनु हुँदैन । ताकी आफ्नै सर्तमा युद्ध रोक्न सकियोस् ।’

यस्तै दुई नेताबीच रुसमा हुन लागेको आगामी चुनावबारे पनि छलफल भएको बताइएको छ । चिनियाँ राष्ट्रपति सीले पुटिनलाई आगामी राष्ट्रपति चुनावमा जनसमर्थन प्राप्त हुने विश्वास व्यक्त गरे ।

सन् २००० मा सत्ता शक्तिमा आएका पुटिनले त्यसयता लगातार रुसको नेतृत्व सम्हालिरहेका छन् ।


Enter Kantipur TV HD
Advertisement