थाइल्यान्डको संसद् विघटन, ४५ देखि ६० दिनभित्रमा आमनिर्वाचन हुने

चैत्र ६, २०७९ |कान्तिपुर टीभी संवाददाता
थाइल्यान्डको संसद् विघटन, ४५ देखि ६० दिनभित्रमा आमनिर्वाचन हुने

बैंकक । थाइल्यान्डमा संसद् विघटन गरिएको छ । थाइल्यान्डका राजा महावजिरा लङ्गकर्नले आन संसद् विघटन गर्ने आदेशलाई स्वीकृति दिएका हुन् ।

संसद् विघटनको ४५ देखि ६० दिनभित्रमा आमनिर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सो व्यवस्था अनुसार आगामी मेमा त्यहाँ आम निर्वाचन हुनेछ । निर्वाचनको मिति भने अझै घोषणा गरिएको छैन । राजाद्वारा संसद् विघटनलाई स्वीकृति दिएको सूचना शाही राजपत्रमा प्रकाशित हुनुअघि त्यहाँका उपप्रधानमन्त्री विसानुले सम्भवतः मे १४मा आम निर्वाचन गरिन सक्ने बताएका थिए । 

यो निर्वाचनले अर्बपति सिनावात्रा परिवार र सेना समर्थक संस्थापन पक्षबीच लामो समयदेखि चल्दै आएको शक्ति सङ्घर्षलाई पुन सतहमा ल्याउनेछ । यो सन् २०१४मा भएको सैन्य कू यताको यो दोस्रो आम निर्वाचन हुनेछ । 

अपदस्थ पूर्व प्रधानमन्त्रीहरू थाकसिन सिनावात्राकी छोरी तथा यिङ्गलक सिनावात्राकी भतिजी एवम् प्रतिपक्षी दल फिउ थाई पार्टीकी नेता पेतोङ्ग सिनावात्रा प्रधानमन्त्री पदको दौडमा सबैभन्दा अगाडी रहेको मत सर्वेक्षणहरूले देखाएका छन् । २०१४को सैन्य कूको नेतृत्व गरेका तत्कालीन प्रधानसेनापति तथा वर्तमान प्रधानमन्त्री प्रयूत चान ओचा लोकप्रियताको हिसाबले  तेस्रो स्थानमा रहेको मत सर्वेक्षणहरूले देखाएका छन् । 

मे मा हुने निर्वाचनले संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सका सदस्यहरूको निर्वाचन गर्नेछ । तल्लो सदनका पाँच सय सांसद र माथिल्लो सदन सिनेटका २५० सदस्यहरूले संयुक्त रूपमा नयाँ प्रधानमन्त्रीको चयन गर्नेछन् । 

सेनाद्वारा २०१७मा लिखित वर्तमान संविधानको व्यवस्था अनुसार सिनेटका सबै २५० सदस्य सेनाद्वारा नियुक्त गरिएका हुन् र यसले विपक्षी नेतृलाई प्रधानमन्त्री पदमा निर्वाचित हुन त्यति सहज भने छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.