रुस-युक्रेन युद्धका २६६ दिन

कार्तिक २९, २०७९ |मिमराज पाण्डेय
रुस-युक्रेन युद्धका २६६ दिन

काठमाडौं । युक्रेनीहरुको सामान्य जनजीवन सन् २०२२, फेब्रुअरी २४ देखि लथालिंग बन्यो । युक्रेनविरुद्धको रुसी आक्रमणबाट एकाएक गोलाबारी, यत्रतत्र हिंसा र त्रासको स्थिति सिर्जना हुँदा युक्रेन पूर्णत: युद्धमा होमियो, युक्रेनीहरु युद्ध मैदानमा उत्रिए । कति भय त कतिले असुरक्षा महसुस गर्दै देश पनि छोडे ।

अहिलेको अवस्था के हो ?

जल, जमिन र आकाश तीनैतिरबाट रुसको ध्वंशात्मक आक्रमणबाट सुरु भएको रुस-युक्रेन युद्ध- आज २६५६ दिनसम्म जारी नै छ । युद्ध चर्किएदेखि नोभेम्बर १४, २०२२ सम्म ८१ हजार बढि रुसी व्यक्तिहरु मारिएको युक्रेनको दावी छ । यता रुसले भने ६१ हजार बढि युक्रेनी सेना मारिएको दावी गरेको छ । तर यसै युद्धका दौरान २०२२ फेब्रुअरी २४ देखि नोभेम्वर ६ सम्म ६ हजार ४ सय ९० नागरिकको ज्यान गएको र ९ हजार ९ सय ७२ घाइते बनेको संयुक्त राष्ट्रसंघीय मानवाधिकार आयोगको तथ्यांक छ । डोनेट्स्क र लुहान्स्क क्षेत्रमा मात्रै ३ हजार ८ सय ७० जना मारिएका र ५ हजार २ सय ३४ घाइते भएका छन् । जसमध्ये युक्रेनी सरकारद्वारा नियन्तित्र भुभागमा ३ हजार ४ सय ३३ जनाको ज्यान गएको छ भने रुसी सैन्यबलको नियन्त्रणमा रहेको क्षेत्रमा ४ सय ३७ जना मारिएका छन् । यस मानवीय क्षति र हताहतीको मुख्य कारण व्यापक क्षेत्रमा असर गर्ने विस्फोटक हतियारको प्रयोग, अत्याधिक गोलाबारी र क्षेप्यास्त्र प्रक्षपण तथा हवाई हमला नै हुन् ।

Source: 24 Feb 2022 – 6 Nov 2022, the Office of the UN HighCommissioner for Human Rights (OHCHR)

मानवीय क्षतिका अलवा यस युद्धका दौरान युक्रेनका भौतिक संचनानाहरु पनि उत्तिकै ध्वस्त भएका छन् । त्यहाँको सम्पूर्ण ऊर्जा पूर्वाधारको लगभग ४०% रूसी मिसाइल र ड्रोन हमलाहरूले गम्भीर रूपमा क्षतिग्रस्त भएको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् । त्यस्तै शिक्षा, स्वास्थ्य लगाएत अरु क्षेत्रहरुमासमेत उस्तै नोक्सानी छ । रुस र युक्रेनबीचको युद्ध चर्किँदै जाँदा दुवै देशका बालबालिका सबैभन्दा बढी प्रभावित भएका तथ्यहरु आइरहेका छन् । युक्रेन र रुस; दुवै तर्फका महिला र वृद्धवृद्धाका साथै लाखौँ नागरिकहरुको जीवनयापन कष्ठकर बन्दै आएको छ । रूसको युक्रेनमाथिको आक्रमणबाट हजारौँ रुसी-युक्रेनी सैनिक र निर्दोष नागरिहरुको रगत बगिरहेको छ । यसै युद्धका कारणा १० लाख शरणार्थीले युक्रेन छाडे । विश्वभरी मूल्यवृद्धि भयो । रुस-युक्रेन युद्धको असरले नेपालको अर्थतन्त्रमा समेत चुनौती थपियो ।

किन चर्किएको हो युद्ध ?

उत्तर एटलान्टिक सन्धि गठबन्धन (नेटो) मा युक्रेन सामेल हुने कुराबाट रुस त्रस्त थियो । नेटोमा युक्रेन सामेल हुन सक्ने सम्भावना बढ्दै गएको बहनामा रुसले युक्रेनमाथि हमलाको घोषणा गर्यो । सन् २०१४ मै युक्रेनको केही भुभाग कब्जा गरिसकेको रुसले यसपटक पूरा युक्रेन कब्जा गर्ने र युक्रेनी लोकतन्त्रलाई नष्ट गर्ने धम्कीका साथ गत फेब्रुअरी २४ मा आक्रमण सुरु गर्यो । आक्रमणको सुरुवात अघि राष्ट्रपति पुटिनले टेलिभिजनमा सम्बोधन गरेका थिए । त्यससँगै रुसले युक्रेनको किएभस्थित बोरिस्पेल अन्तर्राष्ट्रिय विमानस्थलसहित सैन्य मुख्यालयमा सबैभन्दा पहिले आक्रमण गरेको थियो । त्यसपछि ट्याङ्क र सैनिकहरू पूर्वोत्तर युक्रेनभरि प्रवेश भए । उनीहरूले बेलारुस र क्राइमियाबाट पनि आक्रमण सुरु गरेका थिए । यसरी जमिन, हवाई र युक्रेनका ठूला बन्दरगाहबाट उनीहरुको हमला सुरु भएको थियो । त्यसको प्रतिरक्षाका लागि युक्रेन पनि युद्ध मैदानमा उत्रियो र रुसी हमलाविरुद्ध युक्रेन निरन्तर लडिरहेको छ ।

कसको पक्षमा को उभिए ?

रुसद्वारा युक्रेनमा सैन्य कारबाहीको घोषणा भएसँगै विश्व नै दुई ध्रुवमा विभाजित हुन पुग्यो । अधिकांश देशहरु युक्रेनमाथिको रुसी सैन्य हमला गणतन्त्रमाथिको हमाला भएको भन्दै चर्को आलोचनामा उत्रिए । यस शीलशीलामा विश्वका विभिन्न ठाउँमा रुसविरुद्ध विरोध र प्रदर्शन पनि भए । युक्रेनको पक्षमा समर्थन पनि जुट्न थाले । विश्व राजनीति, कुटनीति, शैक्षिक क्षेत्र लगाएत वहसका विभिन्न मन्चहरुमा रुसको आलोचना र युक्रेनको समर्थनको मुद्दाले महत्व पायो । त्यससँगै विश्वका कतिपय राष्ट्रहरुले त रुसविरुद्ध विभिन्न क्षेत्रमा प्रतिबन्ध समेत लगाए ।

को उभिए रुसको पक्षमा पक्षमा ?

सैन्य, व्यापार लगाएत बहुआयामिक सम्बन्ध भएकै कारण रुसलाई चीनको बलियो समर्थन थियो । कलेक्टिभ सेक्यूरिटी ट्रिटी अर्गनाइजेशन सम्झौतामा हस्ताक्षर गरेकै कारण आर्मेनिया, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान र बेलारुस लगाएतका मुलुकले समर्थन रुसलाई हुनु स्वभाविक थियो । यी मुलुकहरुले रसियामाथिको आक्रमण आफ्नै देशमाथिको आक्रमण सम्झिन्छन् । त्यस्तै रुसलाई उत्तर कोरियाको पनि समर्थन नै थियो ।

को उभिए युक्रेनको पक्षमा ?

युरोपेली नाटो सदस्य राष्ट्रहरु: बेल्जियम, क्यानडा, डेनमार्क, फ्रान्स, आइसल्यान्ड, इटाली, लक्जमबर्ग, नेदरल्यान्ड, नर्वे, पोर्चुगल, संयुक्त अधिराज्य बेलायत र संयुक्त राज्य अमेरिकालगायत देश युक्रेनको पूर्ण समर्थनमा जुटे । जसमध्ये फ्रान्स, जर्मनी र नेदरल्यान्डले सैन्य उपकरणका साथसाथै इन्धनमा समेत उल्लेख्य सहायता पुर्याए । त्यस्तै फिनल्यान्ड र स्विडेनले पनि आफ्नो ऐतिहासिक तटस्थता भंग गर्दै युक्रेनको साथमा उभिए । उनीहरुले पनि युक्रेनलाई विभिन्न सैन्य उपकरण र हतियारहरु सहयोग गरे ।

नेपाल कसको पक्षमा ?

नेपाल सार्वभौमसत्तासम्पन्न राष्ट्र हो । पञ्चशील र तथस्टताको मुल सिद्धान्तमा आधारित भएर अन्तर्राष्ट्रीय सम्बन्ध विकास गर्दै आएको नेपालले भने यसपल्ट युक्रेनमाथिको रुसी हमलाको स्पष्ट विरोध गर्यो । नेपालले एक सार्वभौमसत्तासम्पन्न देशविरुद्ध शक्तिको प्रयोगको विरोध गर्दै कूटनीति र संवादबाट विवादको शान्तिपूर्ण समाधान खोजिनु पर्ने धारणा राखेको छ ।

कसको शक्ति कति ?

अमेरिकाको सरकारी एजेन्सी सीआईएका अनुसार रुस विश्वका बढी जनसंख्या भएका मुलुकहरुमध्ये नवौँ स्थानमा पर्छ भने युक्रेन ३५ औँ स्थानमा छ । त्यस्तै विश्वभर बढी सैन्य तागत भएका देशहरुमध्ये रुस दोस्रो स्थानमा पर्छ भने युक्रेन २२ स्थानमा पर्छ । सैन्य खर्चबढि भएका मुलुकहरुमा पनि रुस १८ औँ स्थान छ भने युक्रेन १९ औँ स्थानमा छ । त्यस्तै, विश्व बैंकका अनुसार युक्रेनको कुल ग्राह्यस्थ उत्पादन ४,८३५.५७ अमेरिकी डलर छ भने रुसको कुल ग्राह्यस्थ उत्पादन १२,१७२.७९ अमेरिकी डलर छ । सन् २०२० को आँकडा अनुसार त्यस वर्ष रुसले ३७९.१२ अमेरिकी डलर बराबरको निर्यात गरेको थियो भने युक्रनले ६०.६७ अमेरिकी डलर बराबरको निर्यात गरेको थियो ।

अहिलेको अवस्था के हो ?

स्वघोषित तर अन्तर्राष्ट्रिय मान्यता नपाएका युक्रेनबाट टुक्रिएका डोनेट्स्क र लुहान्स्कका पूर्वी क्षेत्रहरूमा जनमतसङ्ग्रह पनि गरियो । रुसी कब्जामा रहेका जापोरीजा र खेअर्सनको दक्षिणी भेगहरूमा पनि मतदान गराइएको थियो। सन् २०२१ को अन्त्यतिर राष्ट्रपति पुटिनले युक्रेनी सीमा क्षेत्रमा ठूलो मात्रामा सेनाहरू तैनाथ गर्न थाले। अनि यसै साता उनले सन् २०१५ मा पूर्वी क्षेत्रका लागि भएको एउटा शान्ति सम्झौतालाई अन्त्य गर्दै विद्रोहीहरूको नियन्त्रणमा रहेका क्षेत्रहरूलाई स्वतन्त्र मुलुकहरूको मान्यता दिए। आक्रमणको घोषणा गर्दै पुटिनले नेटोलाई "राष्ट्रको रूपमा आफ्नो ऐतिहासिक भविष्य"लाई धम्की दिएको आरोप लगाएका छन्।

पुटिन के कुरासँग डराउँछन् ?

रुस युरोपकै ठूलो शक्तिशाली सेना भएको देश हो । यसले आफ्नो सैन्यशक्ति बलवान बनाउन दुई दशकदेखि त्यसमा ठुलो खर्च गर्दै आएको छ । तसर्थ पुटिनले नेटोको विस्तारलाई मन नपराएको भएपनि तर उनलाई यसको खासै डर छैन । नेटो एक रक्षात्मक गठबन्धन मात्र हो । यसले सोभियत सङ्घ वा रुसमाथि कहिल्यै आक्रमण गरेको छैन, र कहिल्यै गर्नेछैन भन्ने पुटिनलाई थाहा छ ।

डर यति मात्र हो कि पुटिन युक्रेनमा फस्टाउँदै गरेको लोकतन्त्रसँग डराएका छन् । उनी रुसी सिमानामा एक सफल र प्रजातान्त्रिक देश भएको सहन सक्दैनन् । खास गरी युक्रेनी जनता पनि आर्थिक रूपमा समृद्ध हुन थाल्नु उनको लागि ठुलो चुनौती है । जसरी पुटिन रुसी जनताको इच्छा अनुसार रुसको भविष्यको मार्ग निर्देशन हुन अनुमति दिँदैनन् । त्यसरी नै उनी साझा संस्कृति र इतिहास भएको युक्रेनलाई समृद्ध र स्वतन्त्र अनुभूति गर्न दिन चाहँदैनन् । जसको लागि युक्रेनीहरुले मतदान गरे, लडे र संघर्ष गरेका थिए ।

तर युक्रेनी जनताले आफ्नो क्षमता देखाइसकेका छन् । उनीहरू आफ्नो प्रजातन्त्रको लागि रुसी सेनाले युक्रेन छोड्दासम्म लड्ने देखिन्छन्।

कहाँ गएर टुंगिएला ?

रुस-युक्रेन युद्ध रोकिएको छैन । यो युद्ध भड्किदै गए दोस्रो विश्वयुद्धपछिको अर्को ठुलो द्वन्द्व हुन सक्ने अनुमानहरु गर्न थालिएका छन् । यदि त्यसो भइहाले पचासौँ हजार नागरिक हताहत हुने र दशौँ लाख मानिसहरु विस्थापित हुन सक्ने राजनीतिज्ञ, विश्लेषक तथा विज्ञहरुले आँकलन गर्न थालेका छन् ।

भ्लादिमिर पुटिन नै यस संकटको बढी जिम्मेवार हुन् । मृतकको सङ्ख्या बढ्दै जाँदा उनीमाथि युरोपमा शान्ति भङ्ग गरेको आरोप पनि लागेको छ । विभिन्न स्वार्थमा कतिपय देश रुसको पक्षमा उभिएका छन् भने कति युक्रेनले जितेको हेर्न चाहान्छन् । यता रुसी आक्रमण नेटोसम्म पुगे अमेरिका युद्धमा जान तयार रहेको चेतावनी दिदै आएको छ । यसैबिच रुसले आणविक तथा रसायनिक हतियार प्रयोग गर्न सक्ने चर्चा पनि चले । तर सिंगो विश्व समुदाय नै रुस-युक्रेन युद्धको समाधान खोजिरहेकाले यो संकट अब धेरै नटिक्ने विश्लेषणहरु हुन थलिसकेका छन् । धेरैजसो विश्लेषक र टिप्पणिकर्ताहरु युक्रेनको नेटोको सदस्यता सम्बन्धि मुद्दा नै द्वन्द्वको कारण भएको र यसको समाधान पनि त्यसैबाट खोजिनु पर्ने तर्क राख्दै आएका छन् । रुस-युक्रेन युद्ध कुटनीतिक वार्ताबाटै समाधान गरिनु पर्ने अधिकतम् देशहरुको सुझाव छ ।

युक्रेनमाथि हमला गर्ने पुटिनको निर्णयकै कारण युक्रेनीहरु एकतामा बाधिए । युक्रेनको प्रजातन्त्र पहिलेको भन्दा बलियो बन्दै गएको छ । युक्रेनका राष्ट्रपती भोलोदोमिर जोलोनस्की युक्रेनको राष्ट्रीय नेताको रुपमा पहिचान बनाउँदै छ्न् । अब रुस लचिलो नभए युद्धले भयावह रुप लिने हुँदा रुस केही लचिलो बन्ला कि भन्न् आँकलन गरिएका छ्न् । अगाडी के हुन्छ त्यो भने प्रष्ट भइसकेको छैन ।

अन्तर्राष्ट्रीय विभिन्न सञ्चार माध्यमहरुको सहयोगमा ।


Image

मिमराज पाण्डेय

पाण्डेय कान्तिपुर टेलिभिजनमा कार्यरत छन् । सामाजिक सञ्जालहरूमा उनलाई @mrpandeya लेखेर खोज्न सकिन्छ ।