सल्यान । सल्यानमा लामो प्रयासपछि ब्लड बैंक सञ्चालनमा आएको छ ।
जिल्ला अस्पताल सल्यानमा ब्लड बैंक सञ्चालनका लागि २०७७ सालमै भवन निर्माण गरिएको थियो । भवन बने पनि आवश्यक उपकरण र व्यवस्थापनको अभावमा ब्लड बैंक सञ्चालनमा आउन सकेको थिएन । जसका कारण अपरेसन गर्नुपर्ने बिरामी र सुत्केरीले ठूलो समस्या झेल्दै आएका थिए । जेन-जी युवा र स्थानीय तहको सहयोगमा ब्लड बैंक सञ्चालनमा आएको हो ।
जिल्ला अस्पताल सल्यानमा एक महिनामा ८ देखि १२ पोका रगतको आवश्यकता पर्दै आएको छ । विशेषगरी सुत्केरी हुन आउने महिलाहरू बढी प्रभावित हुँदै आएका थिए। रगत आवश्यक पर्दा बिरामीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सर्वसाधारण तथा स्वास्थ्यकर्मीको भर पर्नुपर्ने बाध्यता थियो। ब्लड बैंक सञ्चालनमा आएसागै अब यो बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ।
सल्यान अस्पतालमा सल्यानसहित रूकुम र रोल्पाबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन् । रगत आवश्यक पर्दा पटक-पटक जिल्ला अस्पतालमा ब्लड खोज्दै दौडधुप गर्नुपर्ने अवस्था थियो। जिल्लामा ब्लड बैंक स्थापना गर्ने प्रयास पटक-पटक गरिए पनि सफल हुन सकेको थिएन। रगतको अभावमा एउटै व्यक्तिले २६ पटकसम्म रक्तदान गर्नुपरेको उदाहरण पनि छ। ब्लड बैंक सञ्चालनमा आएपछि नागरिकहरू खुसी भएका छन्।
ब्लड बैंक स्थापना गर्न जेन-जी युवा र सल्यानी युवाहरूले लामो समयदेखि पहल गर्दै आएका थिए । उनीहरूले स्वास्थ्य मन्त्रालय, काठमाडौं पुगेर ब्लड बैंक सञ्चालनका लागि आवश्यक सामग्री माग गरी सल्यान ल्याएका थिए । ब्लड बैंक स्थापना गर्न स्थानीय तहका जनप्रतिनिधिहरूले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन्।
यसका लागि स्थानीय तहहरूले चालु आर्थिक वर्षको पुस मसान्तसम्म प्रत्येक स्थानीय तहबाट ५० हजार रूपैयाँका दरले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानको खातामा रकम जम्मा गर्ने सहमति गरेका छन् ।