सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा अस्पतालले मिर्गौला रोगीका लागि हेमोडायलायसिस सेवा निःशुल्क दिन थालेपछि धेरै बिरामी उपचारमा सहज भएको छ ।
सरकारले सञ्चालन गरेको विपन्न नागरिक उपचार कोषमार्फत मिर्गौलाका बिरामीले अस्पतालबाट निःशुल्क सेवा पाएपछि सहज भएको हो । लामो समयदेखि मृगौलाको समस्या भोग्दै आएकी चौतारा गैरिगाँउकी शर्मिला तामाङले चौतारा अस्पतालमा निःशुल्क डायलाइसिस सेवा एक वर्षदेखि पाउन थालेपछि राहत महसुस गर्नु भएको छ ।
अहिले जिल्लामै उपचार हुने भएपछि उपचारका लागि काठमाडौंका धाउनु पर्ने बाध्यता मात्र हटेको छैन । आर्थिक भार पनि कम भएको छ । साँगाचोकका पुर्णबहादुर नेपालीले पनि चार महिनादेखि डायलाइसिस उपचार गराइरहनु भएको छ।
उहाँले पनि अहिले समय, खर्च र कठिनाइ सबैबाट मुक्ति पाएको अनुभव गर्नु भएको छ । चौतारा अस्पतालमा डायलाइसिस सेवा विस्तारसँगै ग्रामिण क्षेत्रका मृगौला रोगीहरूलाई राजधानी धाउनुपर्ने बाध्यता हटेको हो ।
बिरामीको आवश्यकतालाई हेरेर थप दुई बेडको क्षमता बढाउने अस्पतालको तयारी छ । नियमित उपचार आवश्यक पर्ने र सर्वसाधारणको पहुँचभन्दा निकै महंगो मानिने मिर्गौला रोगका बिरामीका लागि जिल्लामै निःशुल्क डायलाइसिस सेवा ठुलो राहत भएको छ ।