कागेश्वरी मनोहरा नगर अस्पतालमा बिरामीको चाप, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार

भाद्र १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
कागेश्वरी मनोहरा नगर अस्पतालमा बिरामीको चाप, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा पछिल्ला दिन बिरामीको अभूतपूर्व चाप बढेको छ। 

सोमबार मात्रै अस्पतालले एकैदिन एक हजार जनालाई सेवा दिँदै हालसम्मकै रेकर्ड कायम गरेको छ। बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने ओपीडीमा आकस्मिकसहित विभिन्न विभागमार्फत सेवा प्रदान गरिएको हो।

अस्पतालको सोमबारको विवरणअनुसार ४८ जनाले दन्त सेवा, २६ जनाले गर्भवती परीक्षण, २५ जनाले आकस्मिक सेवा, ६६ जनाले फेमिली फिजिसियन, २८० जनाले सामान्य ओपीडी, १७५ जनाले हाडजोर्नी, ६१ जनाले स्त्रीरोग, ४३ जनाले बालरोग, ३१ जनाले इन्टरनल मेडिसिन, ४४ जनाले आँखा परीक्षण लगायत सेवाबाट लाभ उठाए।

सोही दिन अस्पतालले ७५२,४५१ रूपैयाँ आम्दानी गरेको छ। जसमा ५७०,०८१ रूपैयाँ बीमाबाट र १८२,३७० रूपैयाँ नगदबाट संकलन भएको हो। हाल नगर अस्पतालले हाडजोर्नी, इन्टरनल मेडिसिन, बालरोग, स्त्रीरोग, दन्त, आँखा, मनोरोग, छालारोग, मुटुरोग, युरोलोजी, सर्जरी, पोषण परामर्श, खोप तथा डट्ससहित दैनिक १९ भन्दा बढी विशेषज्ञ सेवा दिँदै आएको छ। 

विशेषगरी आमा-बच्चाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै २४ घण्टा प्रसूति सेवा, खोप, पोषण र निःशुल्क औषधि वितरणले स्थानीयलाई थप राहत पुगेको छ।

नगरप्रमुख उपेन्द्र कार्कीको सक्रियतामा अस्पतालमा उल्लेखनीय सुधार भइरहेको छ। उनले अस्पताललाई प्रदेशकै नमुना अस्पतालका रूपमा विकास गर्ने लक्ष्यसहित सय शैयामा स्तरोन्नति गर्न प्रस्ताव गरेका छन्। 

स्तरोन्नतिपछि शल्यक्रिया कक्ष, प्रसूति गृह, डायलाइसिस, ट्रमा सेन्टर, ल्याब र इमेजिङ सेवा विस्तार गरिने योजना छ। “नगर अस्पताललाई जनमैत्री, पहुँचयोग्य र उच्च गुणस्तरीय स्वास्थ्य सेवा दिने संस्थामा रूपान्तरण गर्न हामी निरन्तर प्रयासरत छौं,” नगरप्रमुख कार्कीले बताए।

बढ्दो बिरामी चापका कारण अस्पताल नगरवासी मात्र नभई छिमेकी नगर र सिन्धुपाल्चोक, दोलखा, भक्तपुरका नागरिकका लागि पनि विश्वासिलो स्वास्थ्य गन्तव्य बन्दै गएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.