वीरगञ्ज (पर्सा) । वीरगन्जमा हैजाको संक्रमण फैलिँदै गएको छ । वीरगन्जका दर्जनभन्दा बढी अस्पतालमा १ सय ६१ झाडापखाला तथा हैजाका बिरामी उपचाररत छन् । तीमध्ये ७१ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ ।
वीरगन्ज महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राजु साहका अनुसार आइतबार साँझ ७ बजेसम्मको तथ्यांकमा ७१ जनामा हैजा प्रमाणित भएको हो । संक्रमित पुष्टि भएकामध्ये सबैभन्दा धेरै बिरामी नारायणी अस्पतालमा भर्ना भएका छन् । यस्तै तराई अस्पताल, नेसनल मेडिकल कलेज, भवानी अस्पताल, वीरगन्ज हेल्थ केयर अस्पताल, अली अर्थो अस्पताल, नारायणी सेन्टर अस्पताल र मंगलम डाइग्नोस्टिक सेन्टरमा पनि बिरामीहरू भर्ना गरिएका छन् । वीरगन्जका प्रायः सबै अस्पतालमा अहिले झाडापखालाका बिरामी भर्ना छन् ।
यसैबीच, जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले यहाँ झाडापखाला र हैजाको सङ्क्रमण देखिएपछि आवश्यक पर्ने स्थानीय तहका स्वास्थ्यकर्मीलाई केन्द्रिकृत रूपमा तोकिएको स्वास्थ्य संस्थामा खटाउन सकिने निर्णय गरेको हो ।
बैठकमा मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुधन प्रसादसिंहले वीरगन्जमा देखिएको हैजाको महामारी नियन्त्रण गर्न तीनवटै तहको सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । बैठकले सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त थप जनशक्ति तथा स्रोत साधनको ‘पुल’ खडा गरी जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिमार्फत वितरण, व्यवस्थापन एवं अनुगमन गर्ने निर्णय पनि गरेको छ ।