पर्सा । वीरगञ्जमा हैजाको प्रकोप फैलिएको छ । शुक्रबार र शनिबार पखाला लागेर उपचारका लागि पुगेका ३६ जना बिरामीमा आरडीटी पोजेटिभ देखिएकाले हैजा आउटब्रेक भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
थप पुष्टिका लागि बिरामीको स्टुल कल्चरको काम भइरहेको छ । यसैबीच केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले तीनै सुरक्षा निकायलाई हैजा प्रकोप नियन्त्रणका लागि आवश्यक परे परिचालित हुनसक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ ।
वीरगञ्जमा झाडापखालाको उपचार गराइरहेका तीन जनाको मृत्यु भएको छ । उनीहरूमा हैजाको परीक्षण गर्न नपाउँदै मृत्यु भएको अस्पतालले जनाएको छ । हालसम्म मुरली टोललगायतका क्षेत्रका १ सय २९ जना झाडापखालाका बिरामी उपचारका लागि वीरगञ्जकै विभिन्न अस्पताल पुगेका छन् । यसरी उपचारका लागि पुगेका बिरामीको आरडीटी र ह्यांगिङ ड्रप टेस्ट गरिएको नारायणी अस्पतालले जनाएको छ ।
वीरगञ्जमा पखाला लागेर उपचार गराउन आउनेहरू शुक्रबारदेखि बढेका हुन् । वीरगञ्जमा देखिएको हैजा नियन्त्रणका लागि तीन तहकै सरकारबीच समन्वय भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
विगतका वर्षहरूमा समेत काठमाडौं, ललितपुर, जाजरकोटलगायतका स्थानमा हैजा देखिसकेको छ । चिकित्सकहरूले वर्षा मौसममा झाडापखाला तथा हैजाको जोखिम बढि हुने भएकाले खानपानमा विशेष ध्यान दिन अनुरोध गरेका छन् ।
दिसामा पाइने भिभ्रिओ कोलेरा पानी वा खानाको माध्यमबाट मानिसको शरीरमा प्रवेश गरेमा हैजाको संक्रमण हुन्छ । विशेषगरी वर्षामा यस्तो प्रदूषित पानी वा खानाका कारण संक्रमणको जोखिम बढी हुने भएकाले सावधानी अपनाउन चिकित्सकहरूले सुझाएका छन ।
हैजाको संक्रमणले मानिसको ज्यानैसमेत लिन सक्ने हुनाले पानी उमालेर वा निर्मलीकरण गरेर मात्र पिउनुपर्छ । त्यसबाहेक सडेगलेको खाना नखान, तरकारी-फलफूल सफा पानीले पखालेर खान तथा राम्ररी साबुनपानीले हात धोएरमात्र खानुपर्ने चिकित्सक बताउँछन् ।
अहिले देशैभरका अस्पतालहरूमा झाडापखालाका बिरामी आउने गरे पनि वीरगञ्जबाहेक अन्य ठाउँमा भने हैजा देखिएको छैन । तर पछिल्लो ६ महिनामा काठमाडौंमा एक र अछाममा एक गरी २ जनामा हैजा सङ्क्रमण पुष्टि भइसकेको छ ।