भक्तपुर । मध्यपुर थिमिमा वैकल्पिक चिकित्सा उपचार विधि होमियोप्याथिक स्वास्थ्य सेवा केन्द्र सूरू भएको छ ।
नगरापालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले आज वडा नं-७ मा होमियोप्याथिक सुभारम्भ गर्दै स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन गर्नका लागी मध्यपुर थिमीमा होमियोप्याथिक स्वास्थ्य सेवा केन्द्रको सुरूवात गरिएको बताउनुभयो ।
नगरपालिकाले कार्यविधि नै बनाएर स्थानियको सहजताको लागि होमियोप्याथिक स्वास्थ्य सेवा केन्द्र सुरू गर्न बीस लाख रूपैयाँ बजेट समेत विनियोजन भएको उहाँले बताउनुभयो ।
७ सय ५३ वटा स्थानीय तह मध्ये मध्यपुर थिमिमा स्थानिय तहले सञ्चालन गरेको प्रमुख श्रेष्ठको दाबी छ । यस्तै वडा नम्बर १ र ५ मा आयुर्वेदिक स्वास्थ्य सेवा सञ्चालन भइरहेको र नेपाल कोरिया मैत्र नगरपालिका अस्पतालबाट दैनिक १ हजार विरामीको उपचार भइरहेको प्रमुख श्रेष्ठले बताउनुभयो ।
नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखि काम गर्दै आएको बताउनुभयो । बजेट बनाउँदा आर्थिक स्थरलाई उकास्नका लागि पर्यटकीय क्षेत्र कसरी बनाउने र यस क्षेत्रलाई अझ सबल बनाउनका लागि काम गरिने उहाँको भनाई थियो ।
यसैगरी कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले ७५३ वटा स्थानीय तहमध्ये पहिलो होमियोप्याथिक सुचारू गरेको बताउनुभयो ।
विश्व स्वास्थ्य संगठनले पनि मान्यता दिएको होमियोप्याथिकलाई नेपाल सरकारले समेत मान्यता दिएको बताउँदै यसले समग्र मध्यपुर बासीहरूको स्वास्थ्य सुधारमा ठुलो सहयोग गर्ने उहाँको भनाइ छ।