महिला भलिबलमा शेरबहादुर खड्का प्रतिष्ठानले थपेको इँटा

वैशाख १४, २०८२ |प्रदीप लेखी
महिला भलिबलमा शेरबहादुर खड्का प्रतिष्ठानले थपेको इँटा

काठमाडौं । भलिबल संघको सक्रियता र निरन्तर प्रतियोगिताका कारण पछिल्लो समय भलिवलप्रति खेलाडीको आकर्षण निकै बढेको छ । तर, खेलाडीलाई यसमै टिकाइराख्न आकर्षक पुरस्कार राशिदेखि लिएर उपयुक्त खेलस्थल, खेलाडी बिमा लगायतका कुरा पनि आवश्यक हुन्छ । 

केही संस्थाहरुले खेलाडीलाई नै प्राथमिकता दिएर प्रतियोगिता सञ्चालन गर्न थालेका छन् । काठमाडौंमा शनिबार सम्पन्न शेरबहादुर खड्का प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय महिला भलिबल प्रतियोगिता पनि यस्तै एउटा पहल बनेको छ ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले एकल प्रयासमा सञ्चालन गर्दै आएको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आठौं संस्करण सम्पन्न भएको छ । यो अवधिसम्म आइपुग्दा प्रतियोगितामा युवा खेलाडीको सहभागिता पनि बढ्दै गएको छ, जसको कारण हो प्रतिष्ठानले खेलाडीलाई दिने प्राथमिकता । हरेक वर्ष पुरस्कार वृद्धि, बिमालगायतको व्यवस्थाका कारण खेलाडीले यो प्रतियोगिता कुर्ने गरेका छन् ।

हरेक वर्ष खेलाडी विदेश पलायन हुने गरेका छन् । त्यसलाई रोकेर यहीँ अवसर सिर्जना गर्न पनि सरकार र संघको प्रयासले मात्र सम्भव नहुने आयोजक संस्थाका अध्यक्ष रन्जन खड्काको भनाइ छ । विधागत पुरस्कारदेखि खेलाडीको सुविधालाई ध्यानमा राखेर प्रतियोगिता गराउँदा यसले खेलाडीको आयस्रोत बढ्नुका साथै सम्बन्धित खेलको विकासमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता गराइरहेको भलिबल संघको आर्थिक पक्ष भने निकै कमजोर छ । तर, प्रतिष्ठान जस्तै अन्य निजी संस्थाहरुलाई भलिबल क्षेत्रमा भित्र्याउन सके अझ यो खेलले फड्को मार्ने विश्वास भलिबल संघको छ ।

नेपालमा सयौं प्रतिष्ठान र कम्पनी छन् । तर, खेलकुद क्षेत्रको विकासका लागि कमैले मात्र सोच्छन् । अन्य निजी क्षेत्रले पनि प्रतिष्ठानको जस्तै पहल अगाडि बढाउने हो भने नेपाली भलिबल खेलाडीलाई खेलमै टिकाइ राख्न केही हदसम्म सहयोग मिल्नेछ ।


Image

प्रदीप लेखी

लेखी कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।