बढ्दो छ वायु प्रदूषण, बिहान-बेलुका बाहिर हिँडडुल नगर्न चिकित्सकको सुझाव

माघ १३, २०८१ |कृपाल गौतम
बढ्दो छ वायु प्रदूषण, बिहान-बेलुका बाहिर हिँडडुल नगर्न चिकित्सकको सुझाव

काठमाडौं । नेपालमा मंसिरदेखि जेठसम्म वायु प्रदूषण उच्च हुने गरेको पाइन्छ । केही सातादेखि नेपालको तराई क्षेत्र लगायत काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको पाइएको छ, त्यसमा पनि यो बेला बिहान-बेलुकी प्रदूषणको मात्रा उच्च हुने गर्छ ।

प्रदूषणका कारण विभिन्न स्वास्थ्य समस्याको जोखिम हुने भएकाले सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् । यस्तो बेला बिहान-बेलुकी बाहिर नहिँड्न र हिँड्नै परे मास्कको प्रयोग गर्न पनि उनीहरूको सुझाव छ ।

बिहान सबेरै उठेर या साँझको समयमा हिँड्ने कतिपयको बानी हुन्छ । अधिकांश उच्च रक्तचाप, मधुमेह लगायत रोगका बिरामी यस्तो हिँडडुलले यी समस्या नियन्त्रणमा राख्न मद्दत पुर्याउने ठान्छन् । तर, हिउँदका बेला बिहान-बेलुका प्रदूषणको मात्रा उच्च हुने भएकाले यसरी हिँडडुल गर्दा सावधानी अपनाउन चिकित्सकहरूले सुझाएका छन् । बिहान-बेलुका बाहिर हिँडडुल नगर्न र बाहिर निक्लनै परे मास्कको प्रयोग गर्न उनीहरूले सुझाएका छन् ।

“श्वासप्रश्वासका रोगीहरू, दीर्घ दमका रोगीहरूलाई बिहान वा बेलुकाको बेला हामी हिँड्ने सल्लाह दिँदैनौं । अरू जति पनि मुटुका रोगीहरू अथवा उच्च रक्तचाप वा मधुमेहका बिरामी, मोटोपना भएका बिरामीहरू हुनुहुन्छ यस्ता बिरामीहरूले दिनहुँ हिड्नुपर्छ तर अहिलेको यो पछिल्लो समय बिहानको समयभन्दा पनि दिउँसोको घाम लागेको समय मिलाएर हिँड्दा राम्रो हुन्छ । भित्रै कसरत गर्ने हो भने बिहान, दिउँसो गरेर जुन समय उपयुक्त लाग्छ, सहज लाग्छ त्यो बेला कसरत वा हिँडेर शरीरलाई फाइदा लिन सक्नुहुन्छ”, टेकु अस्पतालका फिजिसियन डा. विमलशर्मा चालिसेले बताउनुभयो ।

वातावरण विभागका अनुसार नेपालमा मंसिरदेखि जेठसम्म वायु प्रदूषण उच्च हुने गरेको छ । केही सातादेखि नेपालको तराई क्षेत्र लगायत काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको पाइएको छ । विशेषगरी, हिउँदका बेला बिहान-बेलुका वायुमण्डलमा प्रदूषणको मात्रा उच्च हुन्छ । तर, तापक्रम बढेसँगै वायुमण्डलको तल्लो सतहमा रहने प्रदूषणका कण माथिल्लो सतहमा जान्छन् ।

“जब बिहानको समय हुन्छ त्यसमा वायुमण्डलको तापक्रम चाहिँ कम हुन्छ । जुन हाम्रो श्वासप्रश्वास गर्ने लेभलको वायुमण्डलको तापक्रम चाहिँ कम हुन्छ । त्यसले गर्दा यो प्रदूषणका कणहरू जुन पार्टिकुलेट म्याटरहरू भन्छौं त्यो हामीले सास फेर्ने लेभलमै थुप्रिएर बसेको हुन्छ । जब १०, ११, १२ बज्दै जान्छ, यो लेभलको वायुमण्डलका तापक्रम बढ्दै जान्छ, तापक्रम बढेसँगै प्रदूषणका कणहरू उडेर वायुमण्डलको उपल्लो तहतिर जान्छ र हामीले सास फेर्ने लेभलमा यस्को मात्रा घट्दै जान्छ । र त्यसपछि तापक्रम घट्दै जाँदा साँझको समयमा पनि तापक्रम घट्दै जाँदा प्रदूषणको मात्रा बढ्दै जान्छ”, वातावरण विभागका सूचना अधिकारी दीपक ज्ञवालीले बताउनुभयो ।

अहिले काठमाडौंका वीर, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल लगायतमा प्रदूषणका कारणले देखिने रुघाखोकी, दम, छाती दुख्ने, छाला तथा आँखाको समस्या लिएर आउने बिरामी ३० प्रतिशतसम्म बढेका छन् । प्रदूषण तथा चिसोका कारण दीर्घरोगी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई झनै समस्या देखिने गरेको चिकित्सकहरू बताउँछन् ।

“यो जाडोसँग र प्रदूषणसँग सम्बन्धित रोगहरू साधारणतया प्रदूषणले असर गर्ने आँखामा, छालामा र श्वासप्रश्वासमा हुन्छ । साथै प्रदूषित खाना खायो भने त्यस प्रदूषणले पेटलाई समस्या पार्छ”, वीर अस्पतालका फिजिसियन डा. ध्रुव गैरे भन्नुहुन्छ, “चिसोले गर्दा धेरै पटक दिसा जाने, पेट काट्ने, पेट फुल्ने, खाएको नपच्ने यस्ता समस्या लिएर धेरै आउँछन् ।”

वायु गुणस्तर सूचकांक शून्यदेखि ५० हुँदा राम्रो, ५१ देखि १०० हुँदा मध्यम, १०१ देखि १५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ । यस्तै, १५१ देखि २०० हुँदा अस्वस्थ र २०१ देखि ३०० हुँदा निकै अस्वस्थ मानिन्छ । यस्तो सूचकांक आइतबार काठमाडौंको रत्नपार्कमा १५५ र शंखपार्कमा १५७ मापन गरिएको थियो ।

प्रदूषणको कारक कुनै एक स्थानभन्दा पनि अन्यत्रबाट समेत उडेर आउन सक्ने सम्भावना हुन्छ र यो अवस्था देशभरै एकैनासको छ । यसकारण प्रदूषण बढेका बेला सतर्क रहेर हिँडडुल गर्नु नै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement