काठमाडौं । जेन-जी अभियान्ता मिराज ढुंगानाले नयाँ पार्टी खोल्ने घोषणा गर्नुभएको छ ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी ढुंगानाले राजनितिक दल खोल्न लागेको घोषणा गर्नुभएको हो । उहाँले निर्वाचनमा भाग लिनका लागि मात्रै दल खोल्न नलागेको दाबी गर्नुभयो । आफूहरूको बटमलाइन सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग नलिने रहेकाे उहाँले बताउनु भयो । प्रत्यक्ष निर्वाचित कार्यकारी आफूहरूको प्रमुख मुद्दा भएको उहाँको भनाइ छ । उहाँले जेन-जी अभियन्ताहरूलाई एकजुट बनाउन नयाँ दल खोल्न लागिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘बटमलाइन पूरा नभई हामी चुनावमा जान तयारी छैनौं । प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा भनेको हाम्रो वान अफ द बटमलाइन हो यसलाई सुन्नैपर्छ । यो विना कतै पनि जानेवाला छैनौं । पार्टी खोल्नुको अर्थ चुनाव लड्न होइन । संगठित भएर अगाडी बढ्नलाई छरिएर नबसौं, हुलमुलमा नबसौं, कसको कुरा सुन्ने त, निर्देशन कसले दिने त्यसको लागि मात्रै हो । हामीले राजनितिक पार्टी खोल्नुको अर्थ निर्वाचनमा जानु कदापि होइन । यो प्रष्ट होस् । आधिकारिक हुनलाई भीड भएर मात्रै त देश विकास हुँदैन । आधिकारिक त हामी हुनुपर्यो । कि त मैले एनजीओ खोल्नुपर्यो देश विकासका लागी कि त राजनितिक दल खोल्नुपर्यो । त्यो बाहेक त हुलमुल मात्रै हुन्छ ।’
उहाँले नयाँ दलको नाम भने सबैसँगको छलफलपछि टुंग्याउने बताउनु भयो ।