काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य बीमाले स्वास्थ्य क्षेत्रमा राहत, सुविधा उपलब्ध गराएको भए पनि व्यवस्थित नरहेको बताउनुभएको छ । शुक्रबार मन्त्रालयमा स्वास्थ्य बीमा क्षेत्र सुधार गर्नका लागि मन्त्रालयद्वारा गठित सुधार समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री पौडेलले वर्तमान बीमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत दिए पनि आवश्यकताअनुसार नभएको बताउनु भयो । उहाँले आंशिक सुविधा मात्रैले नपुग्ने भएकाले मन्त्रालयले बीमाका बारेमा कार्यदल गठन गरी अध्ययन गरेको बताउनु भयो । लक्षित समूहले पूर्ण रुपमा लाभ लिनेगरी स्वास्थ्य बीमा अघि बढाउन जरुरी रहेको उहाँको भनाइ छ ।
स्वास्थ्यमन्त्री पौडेलले भन्नुभयो, ‘वर्तमान बीमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत, सुविधा उपलब्ध गराएको छ । तर यो आंशिक मात्रै छ । आवश्यकता अनुसारको छैन । व्यवस्थित छैन । नागरिकलाई सुविधान हुनेगरी कसरी विस्तार गर्न सकिन्छ भन्ने बारेमा हामी लाग्नेछौँ ।’
मन्त्री पौडेलले स्वास्थ्य बीमा पाँच लाख पुर्याउँदा कसरी श्रोत सुनिश्चितता गर्ने भन्नेकुरामा पनि प्रतिवेदनमा समेटिएको विश्वास व्यक्त गर्नुभयो ।