देशभर खाना पकाउने ग्यासको अभाव

फाल्गुन २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
देशभर खाना पकाउने ग्यासको अभाव

काठमाडौं । सरकारले आधा सिलिन्डर ग्यास वितरण गर्ने निर्णय गरे पनि देशभर खाना पकाउने ग्यासको अभाव देखिन थालेको छ । 

काठमाडौं उपत्यकामा करिब एक महिनादेखि उपभोक्ताले घन्टाैं लाइनमा बसेर पनि सहजै ग्यास पाएका छैनन् । केही दिनअघिसम्म उपभोक्ताले आवश्यकताभन्दा बढी भण्डारण गर्दा ग्यास अभाव भएको सरकारले बताएको थियो । तर, वितरण प्रणाली प्रभावकारी बनाउन नसक्दा सरकारले ग्यास व्यवसायीमाथि अनुगमन पनि गर्न सकेको छैन । 

सरकारको गैरजिम्मेवार जवाफका कारण उपभोक्ताको भान्सा नै प्रभावित हुन थालेको छ । पाँचथरमा फागुन ८ गते पछि ग्यास आएको छैन । भरिएका सिलिन्डर नआउँदा उपभोक्ताले खरिद गर्न पाएका छैनन् । विगतमा डिलरसँगै किराना र भाडा पसलमा समेत ग्यास पाइने गरेको थियो ।

पछिल्लो समय आपुर्ति नहुँदा समस्यामाथि समस्या थपिएको उपभोक्ताहरू टिप्पणी गर्छन् । देशका विभिन्न स्थानमा ग्यास अभावको चर्चा भइरहेका बेला बाँके जिल्लामा भने उपभोक्ताले सहज रूपमा ग्यास पाइरहेका छन्। नेपाल आयल निगमका अनुसार बाँके जिल्लाको जमुना नाकाबाट मासिक २ सय ५८ बुलेट ग्यास आयात हुने गरेको छ। 

उपभोक्ताहरूका अनुसार आवश्यकताभन्दा बढी ग्यास स्टक गरेर राख्ने प्रवृत्तिका कारण कतिपय स्थानमा कृत्रिम अभावको चर्चा भए पनि बजारमा भने ग्यास सहजै पाइरहेको छ। हिमाली जिल्ला सोलुखुम्बुमा पनि ग्यास आपूर्तिमा समस्या भएको छ । के भन्छन् त  पारी र उपभोक्ता ?

तत्काल सहज रूपमा ग्यास अपूर्ति नहुने भएपछि आजदेखि देशभर आधा सिलिन्डर ग्यास वितरण सुरू गरिएको छ । आगामी दिनमा ग्यास अभाव हुने त्रासले सुर्खेतका उपभोक्ताहरू ग्यास सञ्चय गर्न थालेका छन्। बिहानैदेखि‌ उपभोक्ताहरूले व्यापारिकबाट अतिरिक्त सिलिन्डर लिएका छन् । 

जसका कारण वीरेन्द्रनगरको एउटै पसलबाट २४‌ घन्टा नबित्दै साडे ३ हजार‌ सिलिन्डर खपत भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.