पूर्वाधार र अस्पतालको क्षमता नहुँदा नेपालमा अंग प्रत्यारोपण कठिन

कार्तिक १, २०८१ |कृपाल गौतम
पूर्वाधार र अस्पतालको क्षमता नहुँदा नेपालमा अंग प्रत्यारोपण कठिन

काठमाडौं । शरीरका अंग फेल भएर अहिले पनि नेपालमा धेरै मानिसको मृत्यु हुने गरेको छ । तर अंग प्रत्यारोपण गर्ने सहज सुविधा छैन । मिर्गौलाको प्रत्यारोपणको १२ वर्ष र कलेजो प्रत्यारोपणको ८ वर्षे इतिहास भए पनि मागअनुसार सेवा प्रवाह हुन सकेको छैन । राजधानी केन्द्रित सीमित अस्पतालमा सेवा उपलब्ध छ । तर क्षमता भने मागभन्दा निकै कम छ । सरकारले सेवा विस्तार र अस्पतालको क्षमता विकासमा ठोस पहल गरेको छैन ।

काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सन् २०१९ देखि कलेजो प्रत्यारोपण सेवा सुरु भयो । पाँच वर्षमा यहाँ जम्मा १५ जनामा मात्र कलेजो प्रत्यारोपण भएको छ । पछिल्लो २ महिनादेखि त प्रत्यारोपण नै भएको छैन । त्रिवि शिक्षण अस्पतालका कलेजो तथा ग्यास्ट्रो सर्जन डा. रमेशसिंह भण्डारीभने आफूहरू तयार रहे पनि बिरामीहरू आफूकहाँ नाआएको बताउनु हुन्छ । ‘हामीकहाँ बिरामी नआएरै हो । नत्र हामी रेडी छौँ । भोलिका दिनमा हामीले विशेषगरी सोमबार र बुधबार ओपीडी चलाउँछौँ,’ उहाँले भन्नुभो, ‘त्यसमा ट्रन्सप्लान्टका बिरामीहरुलाई बोलाउँछौ । अहिले आउनु भयो भने हामी २ हप्तामा गर्न सक्छौ ।’

नेपालमा बर्सेनि १ हजार जनाको कलेजो बिग्रने गरेको अनुमान छ । त्यसमा पनि करिब २ सय जनाको त तत्काल प्रत्यारोपण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

त्रिवि शिक्षण अस्पतालबाहेक भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र केही निजी अस्पतालमा पनि कलेजो प्रत्यारोपणको सेवा छ । तर ८ वर्षको बीचमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३०, त्रिविमा १५ र निजी अस्पतालसमेत गरी झन्डै ५० जनाको मात्र प्रत्यारोपण भएको छ । नेपालका अस्पतालले दिने सेवा गुणस्तरीय भए पनि बिरामीले विश्वास नगर्दा धेरै जना प्रत्यारोपणका लागि विदेशिने गरेको चिकित्सकको अनुमान छ ।

मिर्गौला प्रत्यारोपणमा पनि उस्तै समस्या छ । नेपालमा बर्सेनि ३ हजारको मिर्गौला बिग्रने अनुमान भए पनि जम्मा ३ सयको मात्रै प्रत्यारोपण हुने गरेको छ । मिर्गौला नपाउने समस्या त छ नै पाइहालेमा पनि पूर्वाधार अभावले एकैचोटी धेरै जनाको प्रत्यारोपण सम्भव छैन । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको तथ्याङ्कअनुसार ब्रेन डेथ भएकाहरुबाट मिर्गौला पाउन १ हजार जना र कलेजो पाउन ५५ जनाले निवेदन दिएका छन् । तर आवश्यकताअनुसार दान गर्नेहरु निकै कम छन् । जबकि अन्य मुलुकमा मुटु, फोक्सो, आमासयलगायत पाठेघर कै समेत प्रत्यारोपण हुने थालिसकेको छ ।

नेपालमा एक त अंग प्रत्यारोपणबारे सचेतनाको अभाव छ भने अर्कोतर्फ सरकारले पनि ठोस पहल गरेको छैन । अंग प्रत्यारोपण सेवा सातै प्रदेशमा विस्तार गर्ने भनिए पनि काम अघि बढेको छैन । सरकारी स्वामित्वका अस्पतालमासमेत भवनलगायतका पूर्वाधार अभावले पर्याप्त मात्रामा प्रत्यारोपण हुन सकेको छैन ।

ठाउँ अभावले प्रत्यारोपणमा गर्न सहज नभएको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको भनाइ छ । ‘हामीकहाँ स्थानअनुसार जनशक्ति छ । तर अब हामीले यो भन्दा बढी प्रत्यारोपण गर्न सक्ने ठाउँ नै छैन । र हामिले सरकारलाई बारमबार पहल गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘सरकारले घोषणा पनि गरेको छ । प्रत्येक वर्ष सरकार हरु आउनु हुन्छ उहाँहरुले यो केन्द्रलाई सय रोपनी जग्गा दिन्छु, यसलाई शैक्षिक प्रतिष्ठान बनाउँछु, ५ सय शय्याको बनाउँछु भनेर घोषणा पनि गर्नुहुन्छ । नीति तथा कार्यक्रम र बजेटमा पनि आउँछ तर कार्यान्वयन भएकै छैन ।’

कलेजो र मिर्गौला मात्र होइन, अन्य अंग प्रत्यारोपण सेवा पनि सहज बनाउन सरकारी पहल सुस्त छ । सेवा सहज बनाउने प्रतिबद्धता गर्ने तर काम नगर्ने प्रवृत्तिले नागरिकहरु अकालमा ज्यान गुमाउन बाध्य हुँदै आएका छन् ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।