गुगलमा हेरेको भरमा आफैं डाक्टर बन्दा जोखिम

आश्विन २७, २०८१ |कृपाल गौतम
गुगलमा हेरेको भरमा आफैं डाक्टर बन्दा जोखिम

काठमाडौं । अहिले सबैतिर प्रविधिको सहज पहुँच छ । हातहातमा मोबाइल छ र इन्टरनेटको सहायताले मानिसले नयाँनयाँ कुरा सिक्न पनि सकिरहेका छन् । तर आफूलाई स्वास्थ्य समस्या देखिएमा कतै त्यसैको भर परेर उपचार त गराइ रहनुभएको छैन ? यदि छ भने आजै बन्द गर्नुस् । किनभने यसरी प्रविधिको प्रयोग गरेर गुगलमा हेरेको भरमा आफ्नो डाक्टर आफैं बन्दा तपाईंलाई जोखिममा पनि पार्न सक्छ । 

"मैले आफ्नो समस्याका बारेमा गुगलमा सर्च गरेको, यस्तो औषधि खान भन्यो । केहि दिन खाएँ पनि । तर ठीकै भएन ।" आजभोलि अस्पतालमा चिकित्सक भेट्न पुग्ने आधाभन्दा धेरै बिरामीले यस्तै भन्ने गरेका छन् । धेरै चिकित्सकको अनुभव यस्तै छ ।

गुगल तथा प्रविधिको भर परेर आफ्नो उपचार आफैँ गर्ने प्रयास गर्ने, अनि समस्या बल्झिएर गम्भीर भएपछि अस्पताल आउने थुप्रै बिरामीले चिकित्सकहरुलाई हैरान पारेका छन् । यो विकराल समस्याका रुपमा देखिएको चिकित्सक बताउँछन् ।

सामान्यतया हामीलाई स्वास्थ्यमा देखिएको समस्याको लक्षण गुगलमा सर्च गर्यौं र त्यसकै भर पर्यौ र आफैं औषधि किनेर खायौं भने सही हुन नसक्ने चिकित्सक बताउँछन् । उनीहरुका अनुसार एउटै लक्षण पनि बिभिन्न कारणले देखिन्छ । कुनै सामान्य कारणले हुन्छ भने कुनै जटिल कारणले । तर इन्टरनेटमा भेटिने स्वास्थ्यसम्बन्धी सामग्रीहरुले कहिलेकाहिँ जटिल समस्यालाई सामान्य र सामान्यलाई जटिल देखाइ दिन्छ ।

कतिपयले इन्टरनेटमा अरुको अनुभव पढेर लक्षण आफूलाई पनि मिल्दो जुल्दो छ भन्दै उनीहरुकै सल्लाह पनि मान्छन् । तर प्रत्येक बिरामीमा उही लक्षण देखिए पनि समस्या फरक-फरक हुने भएकाले यसले जटिलता थपिदिन्छ । त्यसमाथी यसले चिकित्सक र बिरामी बीचको विश्वासमा पनि असर गर्ने चिकित्सक बताउँछन् ।

हो, अहिले तपाई हामीलाई लाग्न सक्छ- प्रविधिको युगमा सबै कुरा इन्टरनेट वा एआई प्रविधिको माध्यमबाट स्वास्थ्य सल्लाह पाइहालिन्छ । किन अस्पताल जाने ? तर गुगल तथा यस्ता सर्च इन्जिन चिकित्सकको विकल्प हुनै नसक्ने दाबी चिकित्सकहरुको छ ।

चिकित्सकलाई देखाइसकेपछि उनीहरुको सल्लाहमा उपचार गराउँदा रोग पनि समयमै पहिचान हुने र सही सल्लाह र उचित उपचार पाइन्छ । बिरामीले इन्टरनेटकै भर पर्नु गलतमात्र होइन, घातक हुन सक्छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।