जटिल रोग लागेका बिरामीलाई सास्तीमाथि सास्ती

रोग लागेर थला परिसक्दा पनि उपचारका लागि पाइँदैन पालो
असार २१, २०८१ |कृपाल गौतम
जटिल रोग लागेका बिरामीलाई सास्तीमाथि सास्ती

काठमाडौं । क्यान्सर, मिर्गौला, मुटु रोगलाई जटिल मानिन्छ । सरकारले यीलगायत जटिल रोग लागे उपचारका लागि एक लाख रुपैयाँ सहयोग गर्दै आएको छ । तर समस्या कस्तो छ भने- एकातिर यो सहयोग रकम नै पर्याप्त हुँदैन भने अर्कोतिर पैसा तिरेर पनि समयमा गुणस्तरीय सेवा पाउन सकिँदैन । रोग लागेर थला परिसक्दा पनि उपचारका लागि पालो कुर्नुपर्ने अवस्था त झन् छँदै छ ।

झापाकी मीना भण्डारीका श्रीमान्‌लाई तीन वर्षअघि मिर्गौलामा खराबी देखिएपछि उपचार गराउन विभिन्न अस्पताल भौंतारिनु पर्यो । झापामा डाइलाइसिसको सेवा नपाएपछि उपचारकै लागि काठमाडौं आउनुपर्‍यो । उहाँ सुरुमा भक्तपुरको प्रत्यारोपण केन्द्रमा नाम टिपाएर पालो कुर्न थाल्नुभयो । तर ढिला भइसक्दा पनि पालो नआएपछि निजी अस्पतालमा पैसा तिरेर डाइलाइसिस गराउनुपर्‍यो ।

सरकारी अस्पतालमा पालो पाउन डेढ वर्ष लाग्यो । उहाँ श्रीमान्‌को उपचारका लागि काठमाडौं बसिरहँदा लाग्ने बस्ने-खाने खर्चको हिसाब गर्ने हो भने त सरकारले दिने सहयोग नगण्य मात्र हुन्छ । यस्तै छोराको मिर्गौला प्रत्यारोपणका लागि कपिलवस्तुबाट भक्तपुर आउनुभएका भवेश्वर पोखरेलको समस्या पनि उस्तै छ ।

मिर्गौलाको उपचारका लागि सरकारी स्तरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र एक प्रमुख अस्पताल हो । यो अस्पतालमा मिर्गौलाको नि:शुल्क डायलाइसिस तथा प्रत्यारोपण गरिन्छ । तर यो अस्पतालमा ६ सयभन्दा बढी बिरामीले डायलाइसिसका लागि नै पालो कुरिरहेको मिर्गौला रोग विशेषज्ञ डा.   कल्पना श्रेष्ठले जनाउनुभयो । ‘प्रविधिक रुपमा कुरा गर्दा यो पुगेको छैन । हाम्रै सेन्टरमा पनि ६ सय जनाभन्दा बिरामीहरुले कुरिरहेका छन् । निजी र सरकारी भन्नुभन्दा पनि जहाँ नि:शुल्क डायलाइसिस सेवा छ त्यहाँ सबै प्याक छ । जहाँ पैसा तिरेर गर्नुपर्ने छ, त्यहाँ खाली छ,’ उहाँले भन्नुभयो ।

चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको पनि समस्या उस्तै छ । बिरामी टाढाटाढाबाट आउँछन् । सरकारले दिने एक लाख रुपैयाँ सहयोगले केही नहुने बिरामीका आफन्त वेदनिधि सुवेदी बताउनुहुन्छ ।

‘क्यान्सर उपचार सुरु गरेपछि केही न केही समयमा उपचार सकिनुपर्छ । बरु अलि ढिला गरे खासै फरक नपर्ला । तर उपचार सुरु गरिसकेपछि समयमा सिद्ध्याउनु परेकाले यहाँ बिरामीले सरकारले दिएजति सुविधा लिनुहुन्छ । बाँकी पैसा हुँदैन त्यसपछि थप उपचार नगर्ने हो भने रोग न्यूनीकरणमा खासै अर्थ हुँदैन,’ बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनका निर्देशक डा. शिवजी पौडेल बताउनुहुन्छ ।

नेपालमा बर्सेनि तीन हजारको मिर्गौला ‘फेल’ हुने अनुमान छ । २१ हजारको हाराहारीमा नयाँ क्यान्सरका बिरामी थपिने प्रक्षेपण छ । तर सरकारी अस्पतालको कुरा गर्दा क्यान्सरका लागि भक्तपुर क्यान्सर अस्पताल, सुशील कोइराला प्रखर अस्पताल बाँके र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवन मात्र छन् । यस्तै मिर्गौला प्रत्यारोपण गर्न भक्तपुरको प्रत्यारोपण केन्द्र, त्रिवि शिक्षण अस्पताल र वीर अस्पताल मात्र छन् ।

मुटुका लागि गंगालाल र मनमोहन अस्पताल छन् । यसरी हेर्दा मिर्गौला र मुटुको उपचार गराउने विशेष अस्पताल काठमाडौंमा केन्द्रित छन् जसले गर्दा देशभरबाट यहीँ आउनुपर्ने बाध्यता छ र यसले नै खर्च बढाइरहेको छ । सरकारले क्यान्सर, मिर्गौला, मुटु, अल्जाइमर्स, पार्किन्सस, स्पाइनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेल एनिमिया रोगमा उपचार सहुलियत होस् भनेर प्रतिबिरामी एक लाख रुपैयाँ दिने गरेको हो । तर गुणस्तरीय उपचारका लागि बिरामी र आफन्त राजधानी धाउँदा-धाउँदै पैसा सकिने अवस्था छ ।

सरकारले सातै प्रदेशमा जटिल रोगका उपचार गर्ने अस्पताल स्थापना गर्ने घोषणा गर्दै आएको छ । घोषणा गर्ने तर काम नगर्ने सरकारी कार्यशैलीका कारण जनताले सास्ती भोगिरहेका छन् । बिरामी उपचार नपाएरै छट्पटिनुपरेको अवस्थामा सरकारले प्रत्येक वर्ष गर्ने घोषणा कागजमै सीमित हुँदै आएको छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।