यार्सा लुट्ने समूहका तीन जना हतियारसहित पक्राउ

असार २४, २०८१ |डीबी बुढा
यार्सा लुट्ने समूहका तीन जना हतियारसहित पक्राउ

जुम्ला । मुगुका गाउँहरूमा यार्सा लगायतका सामान लुट्ने समूहका तीन जनालाई प्रहरीले हतियार सहित पक्राउ गरेको छ । 

लुटपाटमा संलग्न तीन जनालाई जिल्ला प्रहरी कार्यालय मुगुले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिका-३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, पूर्णप्रसाद भण्डारी र गुठीचौर ४ का कमल थापा छन् । उनीहरूलाई जुम्लाको पातारासी गाउँपालिका-३ महरीगाउँको चनेलेक नजिकको पाटनबाट हतियारसहित पक्राउ गरिएको हो । 

उक्त समूहबाट पक्राउ गरिएका ६ जनामध्ये लुटपाटका घटनामा तीन जनाको संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । घटनामा संलग्न अन्य पाँच जना अझै फरार रहेका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीको भनाइ छ ।  

गत जेठ १४ गते मुगुकै कार्मारोङ गाउँपालिका-१ डोल्फु गाउँका स्थानीयहरू यार्सागुम्बा सङ्कलन गर्न पाटनतिर गएको मौकामा ८ जनाको हतियारधारी समूहले गाउँमा लुटपाट गरेको थियो ।

लुटेरा समूहले गाउँका २४ घर र एक गुम्बाबाट ३५ तोला सुन, नौ सय ९४ तोलाभन्दा बढी चाँदी, बुद्धको मूर्ति, रिणिमोक्क्ष माइको मूर्ति, ९५ तोला मुगाको माला, यार्सा, मोबाइल र ५० लाख २५ हजार नगद लुटेको भन्दै जिल्ला प्रहरी कार्यालय मुगुमा उजुरी गरेका छन् । 

लुटपाटमा संलग्नहरुको एक महिनादेखि खोजी कार्य थालिएको थियो । त्यसका लागि जुम्ला, मुगु र डोल्पाका पाटनहरूमा सादा पोशाकका प्रहरी खटाएको थियो ।

‘लुटपाटमा संलग्न आठमध्ये तीन जनालाई घटनाको एक महिनापछि पक्राउ गरिएको छ,’ प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले भन्नुभयो, ‘उनीहरूबाट अत्याधुनिक हतियारहरू समेत फेला परेका छन् ।’ प्रहरीका अनुसार  कटुवा पेस्तोल एक थान, एसएलआर एक थान, दुई थान एसएलआरको म्याग्जिन, २५ राउन्ड गोली, तीन थान ओकेटोके, एक थान बाइनाकुलर, पाँच सेट सेनाको पोसाक पनि बरामद गरिएको छ । सुनको रिङ्ग दुई थान, सुनकै माडुली दुई थान बिक्री गरी सकेको अवस्थामा प्रहरीमार्फत बरामद गरेको मुगु प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार तीन वर्षदेखि जुम्ला, डोल्पा र मुगु जिल्लाका पाटनमा पुगी यस समूहले यार्सा सङ्कलन तथा व्यापारीबाट यार्सागुम्बा लुट्दै आएको थियो । पाटनहरूमा हतियार देखाएर असुरक्षा प्रदान गर्ने समूहको खोजीकार्य पहिले देखि नै भए पनि बल्ल भेटिएको प्रहरीको भनाई छ । हतियारधारी समूहलाई जिल्ला प्रहरी कार्यालय जुम्ला हुँदै मुगु लगिएको थियो ।


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement