कानुनी दाउपेचमा अल्झियो नारायणी अस्पताल, शय्या विस्तार भएन

जेष्ठ २२, २०८१ |उपेन्द्र ठाकुर
कानुनी दाउपेचमा अल्झियो नारायणी अस्पताल, शय्या विस्तार भएन

पर्सा । २०७२ सालमै पाँच सय शय्या क्षमतामा स्तरोन्नति भएको वीरगन्जको नारायणी अस्पताल अहिले पनि पूर्वस्वीकृत दुई सय शय्या क्षमतामै सञ्चालन भइरहेको छ ।

जनसंख्या वृद्धिसँगै बिरामीको संख्या दोब्बरभन्दा बढीले बढे पनि विभिन्न कानुनी दाउपेचमा अल्झिएको अस्पतालको शय्या विस्तार भने हुन सकेको छैन । यसको प्रत्यक्ष मारमा बिरामी परेका छन् । बिरामीहरु उपचारका लागि अन्यत्रै जान बाध्य छन् ।

तराईको प्रचण्ड गर्मी अनि जस्ता (टिन) को छानामुनि एउटा कोठामा दुई चिकित्सक असिन-पसिन भएर बिरामीको जाँच गरिहेको यो दृष्य वीरगन्जस्थित नारायणी अस्पतालको हो । यो अस्पतालको बहिरंग विभागमा दैनिक सरदर १२ सयभन्दा बढी बिरामी आउँछन् ।

तीमध्ये ३० देखि ४० जना अस्पताल भर्ना गर्नैपर्ने अवस्थाका हुन्छन् । तर अस्पतालबाट मुस्किलले दैनिक १० देखि १५ बिरामी डिस्चार्ज हुन्छन् । यस्तो अवस्थामा दैनिक झन्डै २० देखि २५ बिरामी शय्या अभावमा अन्यत्र जान बाध्य हुने डा. उदयनारायण सिंह बताउनुहुन्छ ।

यो अस्तालको आपतकालीन कक्षमा दैनिक सरदर एक सय ५० जना सिकिस्त अवस्थाका बिरामी आउँछन् । तर, आपत्‌कालीन कक्षमा जम्मा १५ वटा मात्र शय्या हुँदा उनीहरुको उपचारमा समस्या छ । शय्या नपाउँदा बिरामीलाई समस्या त छ नै, उपचारमा खटिने चिकित्सकलाई पनि उत्तिकै जोखिम रहेको डा. सन्दीप गुप्ता बताउनुहुन्छ ।

मध्य तराईकै सबैभन्दा पुरानो र भरपर्दो अस्पताल हो- वीरगन्जको नारायणी अस्पताल । वीर अस्पतालभन्दा दुई वर्ष कान्छो यो अस्पताललाई २०७२ सालमा सरकारले पाँच सय शय्या क्षमतामा स्तरोन्नति गरिसकेको छ ।

 सरकारले आर्थिक वर्ष ०७४/७५ को बजेटमा एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रममार्फत तीन सय शय्या थप गर्न एक अर्ब ५५ करोड रुपैयाँ विनियोजन पनि गर्यो । तर, निर्माण कम्पनी र सघन सहरी विकासको भवन विभागबीचको जुहारीले अहिलेसम्म यो अस्पतालको भवन निर्माण हुन नसकेको अस्पतालमा कार्यरत चिकित्सक डा. नीरजकुमार सिंह बताउनुहुन्छ ।

पाँच सय शय्याको स्वीकृति पाएको आठ वर्ष बितिसक्दा पनि यस अस्पतालको स्तरोन्नतिमा सरकारी निकाय नै बाधक देखिएका छन् । जसको असर यस भेकका बिरामीमा परेको छ ।


Image

उपेन्द्र ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका पर्सा संवाददाता हुन् ।