पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सुस्त

करिब साढे १५ लाख किशोरीलाई खोप आवश्यक भएपनि बल्ल १० हजारलाई दोस्रो चरणको खोप दिइँदै
चैत्र ९, २०८० |कृपाल गौतम
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सुस्त

काठमाडौं । क्यान्सर सम्बन्धी काम गर्ने अन्तर्राष्ट्रिय संस्था ग्लोबल क्यान्सर अब्जरभेटरीका अनुसार नेपालमा २०२० मा २ हजार १ सय ६९ जनामा पाठेघरको मुखको क्यान्सर देखिएको थियो । क्यान्सरको जोखिम कम गर्नका लागि सरकारले गत भदौमा करिब १० हजार किशोरीलाई पहिलो चरणको एचपीबी खोप दिएको थियो । त्यसको ६ महिनापछि अहिले दोस्रो चरणको खोप दिइँदै छ । 

२० हजार खोप खरिद गरेर ल्याएको सरकारले पहिलो चरणमा १० हजार किशोरकिशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिएपनि अरूले कहिले पाउँछन्, यकिन छैन ।

महिलामा हुने पाठेघरको मुखको क्यान्सर यस्तो रोग हो जसको जोखिम १० वर्षअघि नै थाह हुन्छ । उपचारपछि निको पार्न सकिने पाठेघरको क्यान्सर रोक्न खोप समेत उपलब्ध छ । जुन नेपाल सरकारले नै अभियानकै रूपमा वितरण गरिरहेको छ । तर सबैको पहुँचमा भने अझै पनि पुग्न सकेको छैन । 

सरकारले गत असारमा १० हजार किशोरीका लागि २० हजार भाइल एचपीबी खोप खरिद गरी ल्याएको थियो । सोही अनुरूप पहिलो चरणमा करिब १० हजारले खोप पाए । त्यसको ६ महिना पछि दोस्रो चरणको खोप अहिले दिइँदै छ ।

विश्व स्वास्थ्य संगठनले ९ देखी १५ वर्ष मुनिको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीबी खोप दिन सिफारिस गरेको छ । तर खोप सीमित भएकाले १४ वर्ष पुरा भई १५ वर्ष ननाघेका १० हजार किशोरीहरुलाई मात्र खोप दिइएको हो । जबकि २०७८को जनगणना अनुसार अहिले नै यो उमेर समूहमा २ लाख हजार किशोरी छन् भने नयाँ थपिने क्रम पनि जारी छ ।

यसकारण करिब साढे १५ लाखलाई खोप दिन आवश्यक रहेको स्वास्थ्य सेवा विभागकै भनाइ छ । तर थप खोपका लागी खोपसम्बन्धी अन्तर्राष्ट्रिय संस्था गाभीसँग कुरा भइरहेपनि खोप कहिले कुन मितिमा आउँछ भन्ने सरकारलाई नै थाहा छैन ।

दिगो विकास लक्ष्य प्राप्तिका लागी सरकारले सन २०३० सम्ममा ९ देखि १५ वर्षमुनिका ९० प्रतिशतलाई पाठेघरको खोप लगाउनुपर्ने छ । तर हालसम्म १० हजारलाई मात्र सरकारले खोप दिन सकेको छ । यसरी हेर्दा दिगो विकासको लक्ष्य हासिल गर्न क्यान्सर परीक्षण र खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने देखिन्छ । तर सरकारले सात प्रदेशका एक एक वटा अस्पतालमा मात्र खोप लगाउने व्यवस्था गरेका कारण सबैको पहुँचमा छैन भने सबैलाई पुग्ने गरी पर्याप्त खोप पनि छैन ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।