काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री दाहालले मंगलबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र मुख्य सचिव वैकुण्ठ अर्याललार्इ बालुवाटार बोलाएर समस्या समाधान गर्न निर्देशन दिएका हुन् । सेवा प्रभावित हुँदा सर्वसाधारणले दुःख पाएकाले यसलाई गम्भीर रूपमा लिन उनले मन्त्री र मुख्यसचिवलाई निर्देशन दिए ।
प्रतिष्ठानको कार्यकारिणी समितिको बैठक राखी शिक्षक, कर्मचारी र चिकित्सकका माग सम्बोधन गर्न निर्देशन दिएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
प्रतिष्ठानमा शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलनमा छन् । यसमा ऐक्यबद्धता जनाउँदै धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सोमबार प्रतिष्ठानमा तालाबन्दी गरी कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई कारबाही गर्न आग्रह गर्दै मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचारसमेत गरेका थिए ।