मकवानपुर । वनको खाली जमिनमा व्यावसायिक बेसार खेती गरेर मकवानपुरगढी गाउँपालिका-५ बुङदलका महिलाहरूले लोभलाग्दो आम्दानी गर्न थालेका छन् । बुङदल सामुदायिक वन उपभोक्ता समूहका महिलाहरू मिलेर गठन गरिएको कृषि आयआर्जन समूहले बगरको खाली जमिनमा व्यावसायिक बेसार खेती गरेर आम्दानीको बाटो रोजेका हुन् ।
सामुदायिक वनको झन्डै एक बिघा क्षेत्रमा बेसार लगाएर गत वर्ष २ सय क्विन्टल धुलो बेसार बेचेको महिला आयआर्जन कृषि समूहकी सहसचिव नारायणी आचार्यले जानकारी दिनुभयो । शुद्ध र अर्ग्यानिक भएकोले बेसार उत्पादन गर्न सके बजारको समस्या नभएको पनि उहाँले बताउनुभयो ।
२०६१ सालमा आएको बाढी र पहिरोले मकवानपुरगढी गाउँपालिका–५ बुङदलमा रहेको जग्गा खण्डहर बनाइदिएपछि सोही ठाउँमा सामुदायिक वनको सहयोग र स्थानीय महिलाको सक्रियतामा २०७८ सालबाट बेसार खेती थालिएको हो । “सुरुमा नौ क्विन्टल बेसार रोप्दा ६० क्विन्टल फलेकोले हौसला मिलेको हो । अहिलेसम्म गरेर तीन पटक बेसार लगाइसक्यौं”, सहसचिव आचार्यले भन्नुभयो, “अरू खेती गर्दा बाँदर, बँदेल, मृग र अरु जंगली जनावरले खाइदिने भएकोले बेसार उत्तम विकल्प रहेछ ।”
महिलाहरूले बेसारको अन्तर्राष्ट्रिय बजारीकरणको पहल पनि गर्दैछन् । एक घण्टाको सय रुपैयाँ काममा खटिने महिलाले पाउँछन् । त्यहाँ अहिले अदुवा पनि रोपिएको छ । महिलालाई आयआर्जन र उद्यमशील बन्न सामुदायिक वन उपभोक्ता महासंघ नेपालको कृषि वन सहज कार्यक्रमले पनि सघाएको छ । कोरोना महामारी चलिरहेको बेला पनि बेसार खेतीका लागि माटो बोकेर जग्गा बनाएका थिए । बेसार र अदुवा खेतीले समूहका विपन्न र महिलाहरूलाई आत्मनिर्भर बन्न सघाएको बुङदल सामुदायिक वन उपभोक्ता समूहकी सदस्य संगीता घिमिरेले बताउनुभयो ।
समूहले खाली बगरमा बेसार खेती गरेपछि अरू निजी जग्गामा पनि महिलाहरूले बेसार लगाउन थालेका छन् ।
बेसार खेतीलाई व्यवस्थित ढंगले अघि बढाउन २५ सदस्यीय महिला समूह गठन गरिएको छ । तीमध्ये १८ जना महिला सधैं सक्रिय भएर बेसार खेतीमा लागेका छन् भने बाँकी सदस्य आवश्यक परेको बेला आउँछन् । बेसार खेतीका लागि उनीहरूले छुट्टै कोष स्थापना गरेका छन् ।
बेसार पिसेर बिक्री गर्न सामुदायिक वन उपभोक्ता समूहको भवनमा आफ्नै उद्योग स्थापना पनि गरिएको छ । बेसारको चानाको लागि प्रतिकिलो २५० रुपैयाँ र धुलो बनाएको बेसार पाँच सय बिक्री हुने गरेको छ । “उत्पादन गरेको बेसार बेच्न कुनै समस्या छैन । बेसारको माग राम्रो छ । विदेशबाट समेत गुणस्तर राम्रो भएको भनेर हौसला पाएको छौ”, घिमिरेले भन्नुभयो ।
वैशाख–जेठमा रोपेको बेसार फागुनमा तयार हुन्छ । बेसार खनेर, सुकाउने, चाना बनाउने अनि पिसेर धुलो बनाएर प्याकिङ गरेर बिक्री गर्ने सबै प्रक्रिया सक्दा फेरि रोप्ने बेला भइसक्ने भएकोले काम पाउन पनि समस्या छैन । सामुदायिक वनमा उद्यम विकास गर्दै महिलाहरूलाई आत्मनिर्भर बनाउन फेकोफनले, ग्रेडिङ गर्ने, चाना बनाउने, पिस्ने मेसिनका लागि पनि सघाएको फेकोफनका वरिष्ठ उपाध्यक्ष बिर्खबहादुर शाहीले बताउनुभयो ।
खण्डहर बनेको बगरमा बेसार खेती गरेर उदाहरणीय काम गरेकाले मकवानपुरका महिलाले चौतर्फी प्रशंसा बटुलेका छन् । उत्पादन गरेको बेसार फाइभरमुक्त र गुणस्तरीय रहेकोले बेसार खेतीबाट हौसिएका मकवानपुर गढी बुङदलका महिलाहरुले अब अकबरे खुर्सानी, तेजपत्ता पनि लगाउनेबारे प्राविधिज्ञसँग छलफल भैरहेको बताएका छन् ।