लमजुङ । मर्स्याङ्दी गाउँपालिका–९, खुदी बजारवारिको चोकलाई ‘साम्बा चोक’ नामकरण गरिएको छ । नेपाली महिला राष्ट्रिय फुटबल टिम तथा नेपाल एपीएफ क्लबकी खेलाडी (सशस्त्र प्रहरी सहायक हवल्दार) सावित्रा भण्डारी (साम्बा)को सम्मानार्थ चोकको नाम ‘साम्बा’ राखिएको हो ।
सो स्थानमा सावित्राको तस्बिर अंकित ‘साम्बा स्तम्भ’ पनि निर्माण गरिएको छ । मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले सोमबार बिहान उक्त स्तम्भ उद्घाटन गर्नुभयो । सो अवसरमा सावित्राका आमाबुबालाई पनि सम्मान गरिएको मर्स्याङ्दी–९ का वडाध्यक्ष हरीशचन्द्र थापाले बताउनुभयो ।
सावित्रा स्वदेशमा मात्र नभई विदेशमा समेत चर्चित फुटबलर हुन् । हाल उनी फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लब एना भान गेङगाङ्पमा आबद्ध छिन् ।