धनुषा । मधेश प्रदेश सरकारले तुर्कमेनिस्तानमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडका कास्य पदक विजेता जनकपुरधामका १९ वर्षीय आशिष मिश्रलाई सम्मान गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडका कास्य पदक प्राप्त गर्ने पहिलो नेपाली बन्नुभएका मिश्रलाई सम्मान गर्नुभएको हो ।
मिश्रलाई सम्मान गर्दै मुख्यमन्त्री सिंहले शिक्षामा तीनै तहका सरकारले जोड दिनुका साथै प्रतिभाहरूलाई प्रोत्साहन गरी राष्ट्र निर्माणमा लगाउनु पर्ने बताउनुभयो ।
तुर्कमेनिस्तानको शिक्षा मन्त्रालयको आयोजनामा गएको अप्रिल २१ देखि २६ तारिखसम्म भएको प्रतियोगितामा ३० भन्दा बढी राष्ट्रका प्रतिस्पर्धी सहभागी भएको उक्त प्रतियोगितामा नेपालको तर्फबाट ६ जना विद्यार्थी सहभागी भएका थिए । करिब ३ सयभन्दा बढी विद्यार्थीहरूबीच व्यक्तिगत तथा समूहगत प्रतिस्पर्धा भएको थियो ।
नेपालका तर्फबाट दार्चुलाका आयुष ढुंगाना, गुल्मीका आयुष मरासिनी, धनुषाका आशिष मिश्र, भक्तपुरका सुहित ढुंगाना, काठमाडौंका प्रकाश आचार्य र शुभम श्रेष्ठले भाग लिएका थिए । योसँगै अगामी ९ जुलाई देखि २१, सम्म अस्ट्रेलियामा आयोजना हुन लागेको ६६औं अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा भाग लिन जाने छन् ।
यसमा पनि सहभागी हुने ६ जना नेपाली सहभागीको नाम चयन भइसकेको तथा जाने प्रक्रिया थालिएको म्याथमटिक्स एसोशिएशन अफ नेपालले जनाएको छ ।