दरबन्दी कम हुँदा सङ्खुवासभा जिल्ला अस्पतालमा सेवा दिन समस्या

मंसिर २२, २०८० |दीपेन्द्र शाक्य
दरबन्दी कम हुँदा सङ्खुवासभा जिल्ला अस्पतालमा सेवा दिन समस्या

सङ्खुवासभा । सङ्खुवासभा जिल्ला अस्पतालमा १ सय १० जना कर्मचारी कार्यरत छन् । त्यसमध्ये अहिले १७ जना स्थायी दरबन्दीका कर्मचारी अस्पतालमा कार्यरत छन् । बाँकी ९३ जना भने करार सेवामा लिइएको छ । जसका कारण अस्पतालले भनेजस्तो सेवा नियमित रूपमा दिन सकेको छैन ।

चिकित्सकको करार अवधि सकिएपछि जिल्ला अस्पतालमा ३ महिनादेखि भेन्टिलेटर र आईसियु सेवा बन्द छ भने बाल रोग विशेषज्ञ सेवा पनि रोकिएको छ । ५० बेडको यो अस्पतालमा ५९ जना स्थायी कर्मचारीको दरबन्दी भएपनि १७ जना मात्रै कार्यरत छन् । कोशी प्रदेशबाट ३९ जना, छात्रवृत्ति करारका ३, गैरसरकारी संस्था निकसाईमनबाट ५ र अस्पताल व्यवस्थापन समितिबाट ४६ जना करारमा थपेर सेवा सञ्चालन गरिएको छ ।

अस्पतालमा सात विशेषज्ञ र ४ मेडिकल अधिकृतको दरबन्दी छ । तर एक जना मेडिकल अधिकृतसहित करारकै चिकित्सकले विशेषज्ञ सेवा दिँदै आएका छन् । अस्पताल व्यवस्थापनले मासिक करिब १५ लाख खर्चेर ४६ जना कर्मचारी राखेर सेवालाई प्रभावकारी रूपमा सञ्चालन गरेको छ । यो रकम बिरामीको नाम दर्ता, ल्याब सेवा, औषधि बिक्री र अन्य सेवाबाट सङ्कलन गरिन्छ ।

अस्पताल प्रशासनले करारको विशेषज्ञ चिकित्सक र कर्मचारी राखेर भएपनि सेवा उपलब्ध गराएको छ । दाताको सहयोग, आन्तरिक स्रोत व्यवस्थापन र साझेदारहरूसँग सहकार्य गरेर भएपनि जिल्लामै अत्यावश्यक सेवा पाउन थालेपछि स्थानीय हर्षित छन् । तर, स्थायी दरबन्दीका कर्मचारी अभावमा बिरामीलाई सहज सेवा दिन नसकेको अस्पताल प्रशासन स्विकार्छ ।

जिल्ला अस्पताल सङ्खुवासभामा वार्षिक करिब ७० हजार बिरामीले उपचार गर्छन् । अस्पतालमा विशेषज्ञ सेवा पनि भएकाले भोजपुर र सङ्खुवासभाका बिरामीको उपचारका लागि भीड लाग्छ । अस्पतालमा दैनिक तीन सयभन्दा बढी बिरामी आउँछन् ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।