एचआईभी सङ्क्रमितलाई विभेदरहित व्यवहारको खाँचो

मंसिर १६, २०८० |सुजन पुडासैनी|बालकृष्ण अधिकारी
एचआईभी सङ्क्रमितलाई विभेदरहित व्यवहारको खाँचो

हेटौँडा । एचआईभी सङ्क्रमितहरूले परिवार, समाज र राज्यबाट विभेदरहित व्यवहार र प्रोत्साहन खोजिरहेका छन् । तर शरीरको प्रतिरोधी क्षमतालाई कमजोर बनाइरहेको भाइरससँग जुध्नभन्दा परिवार र समाजबाट हुने विभेदसँग जुध्न कठिन भएको अनुभव सङ्क्रमितहरूसँग छ । 

मकवानपुरमा महिला, पुरुष र बालबालिका गरी दुई सय ९७ जना एचआईभी सङ्क्रमितले नियमित एआरभी सेवन गरिरहेका छन् । सङ्क्रमणका कारण २०७० देखि हालसम्म ५२ जनाको मृत्यु भएको तथ्याङ्क छ । एचआईभी सङ्क्रमितलाई परिवार र समाजबाट हुने भेदभावजन्य व्यवहारले थप समस्या पारिरहेको छ । मकवानपुरमा ११ जना बालबालिका सङ्क्रमित छन् । सङ्क्रमित बालबालिकाले परिवार र विद्यालयमा समेत विभेद हुने गरेको गुनासो गरिरहेका छन् ।

एचआईभी सङ्क्रमितलाई सरकारले निःशुल्क एआरभी औषधि उपलब्ध गराइरहेको छ । यसका अलवा संक्रमितका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम ल्याइएको छ । तर उपचारका लागि स्वास्थ्य संस्थामा पुग्दा उनीहरूले सहज उपचार सेवा पाउँदैनन् । उनीहरूको गोपनीयता राखी दिनुपर्ने सामान्य व्यवहारसमेत स्वास्थ्यकर्मीबाट नहुँदा समस्यामा परेको सङ्क्रमितको गुनासो छ ।

एचआईभी सङ्क्रमितको शल्यक्रियालगायतका उपचारमा स्वास्थ्यकर्मीले सावधानी अपनाउनुपर्छ । त्यसका लागि सुरक्षात्मक उपाय अवलम्बन गर्न सकिने प्रविधि छ । तर सुरक्षात्मक उपाय अवलम्बन गर्नुको सट्टा सङ्क्रमितलाई विभेद गरिँदा उनीहरू आफू सङ्क्रमित भएको कुरा लुकाएर स्वास्थ्य संस्था पुग्ने गर्छन् । 

एचआइभी सङ्क्रमितले यसरी पहिचान लुकाएर औषधी गर्न जाँदा सङ्क्रमण फैलिने जोखिमसमेत बढेको छ । तसर्थ सङ्क्रमितलाई परिवार, समाज र राज्यबाट सकारात्मक व्यवहारको खाँचो छ ।


Image

सुजन पुडासैनी

पुडासैनी मकवानपुरस्थित कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।

Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।