कालाजारले सतायो...

आश्विन १७, २०८० |कुम्भराज राई
कालाजारले सतायो...

ओखलढुंगा । देशैभरका ७५३ स्थानीय तहमध्ये सबैभन्दा बढी कालाजारको समस्या ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा देखिएको छ । विगत आठ वर्षदेखि लगातार कालाजार देखिएको मानेभञ्ज्याङमा कालाजार निवारण गर्न विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य सेवा विभागले काम सुरु गरेको छ ।

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा फैलिएको कालाजार नियन्त्रणका लागि वर्षौंदेखि तीनै तहका सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि नियन्त्रण हुन नसकेपछि स्वास्थ्य सेवा विभाग आफैं लागिपरेको छ । विभागको टोली मानेभञ्ज्याङ आई जनचेतनामूलक कार्यक्रमसहित कालाजारबाट संक्रमित, परिवारका सदस्य, छिमेकी र समुदायमा कालाजार परीक्षण सुरु गरेको छ ।

‘जहाँ-जहाँ केस देखियो त्यहाँ अरुलाई पनि छ कि भनेर, अरुमा पनि सर्न सक्ने सम्भावना रहन्छ,’ स्वास्थ्य सेवा विभागका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले भने, ‘त्यसैले बिरामी भएको त्यो समुदायमै गएर एक्टिभ केस डिटेक्टको माध्यमबाट थप बिरामी छ/छैन पत्ता लगाइन्छ ।’

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार मानेभञ्ज्याङमा आर्थिक वर्ष ०७६/७७ मा १०, ०७७/७८ मा ३७, ०७८/७९ मा २४ र ०७९/८० मा चारजनामा कालाजार पुष्टि भएको थियो ।

‘कालाजार नियन्त्रणका लागि गत वर्ष पनि अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको थियो,’ जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका जनस्वास्थ्य निरीक्षक शिवकुमार यादवले भने । उनका अनुसार मानेभञ्ज्याङमा विषादी छर्किने कार्यक्रम पनि भएको थियो ।

सरकारले सन् २०२५ सम्म कालाजार निवारण गर्ने लक्ष्य लिएको छ । सन् १९८० मा नेपालमा पहिलोपटक देखिएको कालाजार सुरुमा झापादेखि पर्सासम्मको १२ जिल्लामा मात्र देखिएको थियो । हाल पहाडी र हिमाली जिल्लासमेतमा गरी २४ जिल्लामा कालाजार फैलिसकेको छ ।

‘०८०/८१ को बजेटमा कालाजार न्यूनीकरण गर्न प्राथमिकता दिएका छौं,’ मानेभञ्ज्याङ गाउँपालिका उपाध्यक्ष आश्रचन राईले भने । उनले यसका लागि विज्ञहरुलाई परिचालन गरेर यसलाई न्यूनीकरण गर्ने दिशामा आफूहरु अगाडि बढेको जनाए ।

मानेभञ्ज्याङ गाउँपालिकाको समुद्री सतहबाट करिब पाँच सय मिटरदेखि १२ सय मिटरभन्दा माथिको उचाइमा कालाजार भेटिएको छ । स्यान्ड फ्लाई नामक भुसुनाको टोकाइले लाग्ने कालाजार के कारणले पहाडतिर उक्लिँदै छ भन्ने अनुसन्धान हुन सकेको छैन ।

‘यसको विषयमा अनुसन्धान हुँदै गरेको अवस्था छ,’ वरिष्ठ जनस्वास्थ्य अधिकृत कोइरालाले भने, ‘यो अध्ययनको विषय अवश्य पनि हो ।’

विभागको तथ्यांकअनुसार सन् २००० मा नेपालमा २०९० जनामा कालाजार पुष्टि भएको थियो । २०२३ मा उक्त संख्या १०४ जनामा झरेको छ । प्रत्येक १० हजार जनसंख्यामा एकजना भन्दा कममा कालाजार देखिएमा मात्र उन्मूलन भएको मान्न सकिने अन्तर्राष्ट्रिय मापदण्ड छ । 


Image

कुम्भराज राई

राई ओखलढुंगाका कान्तिपुर टीभी संवाददाता हुन् ।