काठमाडौं । चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै आन्दोलित बनेका चिकित्सकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् ।
मणिपाल शिक्षण अस्पताल लगायत विभिन्न अस्पतालमा चिकित्सकमाथि शृंखलाबद्ध रुपमा आक्रमण भइरहेको बिरोधमा चिकित्सकहरुले आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । स्वास्थ्यकर्मीमाथि शृंखलाबद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु सडकमा उत्रिएका हुन् । उनीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्ब कार्यान्वयन गर्न माग राखेका छन् ।
विरोध प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आन्दोलनरत चिकित्सक शेषराज घिमिरेले सरकारले सहमति गरेर मात्रै नपुग्ने भन्दै दोषीलाई पक्राउ गरेर कारबाही गर्न माग गरे । उनले सरकारले दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने बताए । दोषीलाई संरक्षण गर्न नहुने र चिकित्सकमाथि बारम्बार आक्रमण हुँदासमेत राज्य मुकदर्शक बन्न नहुने उनको भनाइ थियो ।
‘सहमति धेरै भइसक्यो, हामीलाई एक्सन चाहिएको हो । यो धेरै भइसक्यो । पक्राउ गर्नुस् हामी मान्छौँ । नत्र सकेनौँ भन्नुस्, हात उठाउनुहोस् । जबसम्म पक्राउ गरेर मुद्दा चल्दैन, हामी आन्दोलनमा नै हुन्छौँ,’ उनले भने, ‘यो राज्यको कमजोरी हो, कानुनी राज्य भएको भए घटना लगत्तै पक्राउ गरी जेलमा हाल्थे । यहाँ त घटना दोहोरिँदा पनि कारबाही छैन । दोषीलाई संरक्षण गर्नु हुँदैन । राज्य टुलुटुलु हेरेर बसेको छ ।’
प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले ‘विदेश पलायन हुन बाध्य नपार, हामी स्वास्थ्यकर्मी एक हौँ,’ ‘आज डाक्टर कुट्ने भोलि बिरामी भए कहाँ जाने ?’ ‘असुरक्षा र त्रासमा उपचार कसरी गर्ने ? कामेको हातले उपचार सम्भव छैन,’ ‘सेतो कोट रातो भए समाज नै कालो हुन्छ,’ ‘स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर’ लगायतका प्लेकार्डसहित नाराबाजी गरेका थिए ।