विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइँदै

जेष्ठ १७, २०८० |कान्तिपुर टीभी संवाददाता
विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइँदै

काठमाडौं । आज मे ३१ अर्थात विश्व सुर्तीजन्य पदार्थरहित दिवस । ‘हामीलाई खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदै छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले यस वर्षको नाराले सुर्तीजन्य पदार्थले मानव स्वास्थ्यसँगै खेतीयोग्य जमिन तथा वातावरणमा पार्ने गम्भीर असरका विषयमा ध्यानाकर्षण गराएको जनाए ।

दिवसको अवसरमा भिडियो सन्देशमार्फत सुर्तीजन्य पदार्थको खेती, उत्पादन तथा प्रयोगबाट निस्कने फोहोरले जल, जमिन र वायु प्रदूषित भएको मन्त्री बस्नेतले उल्लेख गरेका छन् ।

सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटु रोग, श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग र मधुमेह जस्ता नसर्ने रोगहरु निम्त्याउने गरेको बताउँदै उनले विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनको कारण ८० लाख मानिसको मृत्यु हुने गरेको जानकारी दिए । जसमध्ये प्रत्यक्ष सेवनकर्ता ७० लाख र अन्य व्यक्तिहरुले गरेका धूमपानका कारण १२ लाख मानिसको मृत्यु हुने गरेको छ ।

नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । धूमपान गर्दा आफ्नो स्वास्थ्यमा मात्रै नभइ नजिकमा रहेका अन्य व्यक्तिहरुको स्वास्थ्यमा पनि उत्तिकै असर पुग्छ ।

सुर्तीजन्य पदार्थको असरहरुलाई न्यूनीकरण गर्न नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी ऐन, कानुन, नियमावली र निर्देशिका पारित भइ लागु भइसकेको मन्त्री बस्नेतले जनाए ।

नेपालले सुर्तीजन्य पदार्थको प्याकेटको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश र संकेत चिह्न अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी सार्वजनिक स्थलमा धूमपान निषेध गरिएको छ र सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवर्द्धन तथा प्रायोजन निषेध गरिएको उनले जानकारी दिए ।

सुर्तीजन्य पदार्थको नयाँ सेवनकर्ताहरुको दरमा कमी ल्याउन र अमलीहरुको लत छुटाउन विभिन्न लक्षित कार्यक्रमहरु सञ्चालन भइरहेका उनको भनाइ छ ।

सुर्तीजन्य पदार्थको सेवनको लत छुटाउने कार्यक्रमलाई पहुँच योग्य बनाउने, सुर्तीजन्य पदार्थमा कर बढाउने र उक्त संकलित राजस्वबाट आर्थिक रुपमा विपन्न बिरामीहरुको उपचारमा खर्च गर्ने जस्ता थप कार्यहरु प्रभावकारी ढंगले अगाडि बढाउन आश्यक रहेको मन्त्री बस्नेतले जनाए ।

साथै यस साझा समस्याको सम्बोधन गर्न संघ, प्रदेश र स्थानीय तह, गैरसरकारी संस्था, राजनीतिक नेतृत्व, नागरिक समाज, सञ्चारकर्मी, निजी क्षेत्र र सम्पूर्ण नागरिकलाई सहकार्यका लागि मन्त्री बस्नेतले आग्रह गरेका छन् ।

सुर्तीजन्य पदार्थको सेवनका कारण नेपालमा प्रत्येक दिन ७४ जनाको मृत्य हुने गरेको सरकारी तथ्यांक छ । तर विश्व स्वास्थ्य संगठनका अनुसार हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सुर्ती सेवनका कारणले हुने गरेको छ भने १० जनामध्ये एक जना वृद्धको अकालमा चुरोट सेवनका कारणले मृत्यु हुने गर्दछ।

मन्त्रालयका अनुसार नेपालमा बर्सेनि २७ हजार १ सय ३७ जनाको सुर्तीजन्य पदार्थ सेवनका कारण लाग्ने रोगबाट मृत्यु हुने गरेको छ ।

चिकित्सकहरुले फोक्सोको क्यान्सरका कारण १७ प्रतिशत पुरुष र १४ प्रतिशत महिलाहरुको मृत्यु हुने गरेको बताएका छन्।

नेपालमा ४७ सय ३२ टन चुरोटका फोहोर बट्टा जम्मा हुने गरेको जानकारहरुले बताएका छन्।

Enter Kantipur TV HD
Advertisement