रुपन्देहीमा औषधि उद्योगहरु विस्तार हुने क्रम बढ्यो

चैत्र १८, २०७८
रुपन्देहीमा औषधि उद्योगहरु विस्तार हुने क्रम बढ्यो

औद्योगिक हब बन्दै गएको रुपन्देहीमा ठूल्ठूला औषधि उद्योगहरु खुलेका छन् । देशमा खपत हुने एलोपेथिकदेखि आर्युवेदसम्मका सबै औषधि यहाँ उत्पादन हुन्छन् । यहाँका उद्योगले एकातिर औषधि आयात प्रतिस्थापनमा सघाएका छन् भने अर्कोतिर स्वदेशमा रोजगारी र आर्थिक कारोबार बढाएका छन् ।

एलोपेथिक औषधि उद्योगमा देशकै ठूलो मध्येको एसियन फर्मास्युटिकल्स प्रालि रुपन्देहीमा छ । २०५५ सालदेखि उत्पादन थालेको उद्योगले हाल विभिन्न किसिमका २ सय ८० प्रकारमा औषधि उत्पादन गर्छ । मूल्यका हिसाबले वाषिर्क २ अर्ब ७५ करोड रुपैयाँ बराबरको औषधि उत्पादन हुने उद्योगले माग बढ्दै गएपछि पछिल्लो समय लगानी र औषधिका प्रकार बढाउँदै लगेको छ । 

हाल मूलुककै ठूला मध्येका १४ वटा औषधि उद्योग रुपन्देहीमा छन् । त्यसमध्ये ७ वटा एलोपेथिक र ७ वटा आर्युवेदिक औषधि उद्योग हुन् । रुपन्देहीका औषधि उद्योगमा करिब सात अर्बको लगानी छ । औषधि उत्पादक संघको तथ्यांक अनुसार यहाँबाट वाषिर्क १५ अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको छ । २ हजार ५ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । 

ग्रेस फार्मास्युटिकल प्रालिले आर्युवेदका ट्याबलेट, मलम, सिरफ र तेल सहितका ५४ थरी औषधि देशभरको बजारमा पुर्याउछ । औषधि उद्योग र उत्पादन बढेपनि कच्चा पदार्थको उपलब्धता भने बढ्न सकेको छैन । एलोपेथिक औषधि उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थमा उद्योगहरु सतप्रतिशत परनिर्भर छन् । ८० प्रतिशत कच्चा पदार्थ भारतबाट आउाछ भने २० प्रतिशत चीन तथा युरोपबाट आयात हुन्छ । आर्युवेदमा पनि ४० प्रतिशत कच्चा पदार्थ बाहिरी मुलुकबाटै आयात हुन्छ । कच्चा पदार्थमा आत्मनिर्भर नहुनु औषधि उद्योगका लागि सबैभन्दा चुनौति रहेको उत्पादकहरु बताउछन् । 

वि. स. २०२९ सालदेखि औषधि उत्पादन सुरु भएका नेपालमा हाल ६३ वटा कम्पनीले एलोपेथिक औषधि उत्पादन गर्दै आएका छन्  । दर्ता भएका १ सय ४० आर्युवेद अस्पतालमध्ये ५५ वटा संचालनमा छन् । औषधि नीति २०५१ ले १० वर्षभित्रमा ८० प्रतिशत औषधि स्वदेशमै उत्पादन गर्ने लक्ष्य लिएको थियो ।  तर अहिले पनि वार्षिक ४८ प्रतिशत तयारी औषधि भारतबाट आउँछन्  । 


Enter Kantipur TV HD
Advertisement